- प्रमिला कार्की
काठमाडौँ, २४ मङ्सिर । इलामको सूर्योदय नगरपालिका–१० का स्थायी बासिन्दा राजेश पोर्तेल झापाको विर्तामोडमा व्यवसाय गर्नुहुन्छ । केही समय अघिसम्म सुनचाँदी व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । तर, हिजोआज उहाँ फरक काममा व्यस्त हुनुहुन्छ । राजनीतिमार्फत् समाज परिवर्तनको अभियानमा हुनुहुन्छ ।
गत भाद्र २३ र २४ गते देशभर जेनजी आन्दोलन भयो, जहाँ धेरैले ज्यान गुमाए, धेरै अंगभंग भए र अझै केही व्यक्ति अस्पतालको वेडमा छटपटाइरहेका छन् । भदौ २३ गतेको जेनजी आन्दोलनबारे जानकार भए पनि राजेश सहभागी हुनुभएन । तर, सोही दिन सरकारी दमनबाट स्कुले ड्रेसमा आन्दोलनमा आएका युवा गोलीको शिकार भए । दुई दर्जन आन्दोलनकारीको ज्यान गयो । सोही दिनको घट्नापछि आक्रोशित बन्नुभएका राजेश २४ गतेको आन्दोलनमा सहभागी हुनुभयो । तर, विर्तामोडको प्रदर्शनमा उहाँको खुट्टा गुम्यो ।
व्यवसायमा नै व्यस्त रहेतापनि हिंसात्मक गतिविधिले २४ गते घरमै बसेर टुलुटुलु हेर्न उहाँको मनले मानेन । अन्ततः उहाँ २४ गतेको आन्दोलनमा होमिन पुगे । विडम्बना त्यो आन्दोलनमा उनले आफ्नो दायाँ खुट्टा नै गुमाउनुपर्यो ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँ भन्नुहुन्छ, “भदौ २३ गतेको आन्दोलनमा चाहिँ म समावेश भएको थिइनँ । तर, देशमा बढेको भ्रष्टाचार र बेरोजगारीप्रति जानकार थिए । ३५ वर्ष शासन सत्ता चलाउँदा पनि परिवर्तन नआएको हामीले भोगिरहेकै थियौँ । जसको फलस्वरुप जेनजी आन्दोलन हुनु अस्वभाविक थिएन । त्यो शान्तिपूर्ण आन्दोलनमा विद्यार्थी ड्रेसमा मारिए । हजारौँ घाइते भएको पनि प्रत्यक्ष देखिरहेको थिएँ । त्यस्तो क्रूर व्यवहार गर्नु र गोली हान्न निर्दयीपन थियो । त्यसकै विरुद्ध म भदौ २४ गते आन्दोलनमा सहभागी भएको थिए ।”
आन्दोलनकै क्रममा झापा विर्तामोडको ट्राफिक कार्यालय अगाडि बिस्फोट हुँदा उहाँको खुट्टा घटनास्थलमा नै चुडिएको थियो ।
उहाँ बीएनसी अस्पतालमा करिब १५ दिन उपचारपछि घर फर्किनुभएको थियो । घटनापछि राजेश एउटा बन्द कोठामा सीमित हुँदै जीवनभर शारीरिक अशक्त भएर बैशाखीको सहायतमा सीमित हुनुहुन्छ ।
आफ्नो खुट्टा गुमाउनुपर्दाको त्यो तितो पललाई अमिलो मनकासाथ सम्झिँदै उहाँ भन्नुहुन्छ, “आन्दोलन शान्तिपूर्ण नै थियो । यहाँ (काठमाडौँ)मा जस्तो हुलदंगा थिएन । भीड चाहिँ बढ्दो थियो । त्यहीँ क्रममा अचानक गोली चल्यो । म पछाडिको दाइ ढल्नुभयो । सोही क्रममा भागदौड मच्चियो । भाग्दै गर्दा गोली लागेर दुई–तीनजना ढलिसकेपछि म पनि भाग्दै र दौडिदै थिए । जताततै आगजनी र तोडफोड भइरहेको बेला केही वस्तु बिस्फोट भयो र मेरो खुट्टा मैदानमै चुडियो । त्यसबेला म अचेत भएछु । अस्पताल पुगेर होस आएपछि मात्र खुट्टा गुमेको थाहा पाएँ ।” जवानीमै गरिखाने खुट्टा गुमाएका राजेशले हालसम्म सरकारी सहयोग वा राहत पाउनुभएको छैन । अप्रेसन दुर्गा प्रसाईंले निःशुल्क गराइदिनुभएको थियो । त्यसपश्चातको खर्चहरु सहयोग उठाएर नै गरेको उहाँले जानकारी दिनुभयो ।
अन्तरिम सरकार जेनजीको होइन रहेछ
आफ्नो खुट्टा गुमाउनुको पीडा राजेशसँग जति छ त्योभन्दा दोब्बर गुनासो जेनजीकै सरकारप्रति छ । “यतिबेला मलाई मेरो जीवनसँग त्यति गुनासो छैन । नाबालिका छोरी र श्रीमतीको पालन पोषणको समस्या त छ तर सबैभन्दा धेरै गुनासो र आक्रोश अन्तरिम सरकारसँग छ । जेनजीका अुगुवाहरुको गतिविधिप्रति पटक्कै चित्त बुझेको छैन । जेनजीका माग अनुसारका कुनै पनि निर्णय हुन सकेको छैन,” राजेशले अगाडि भन्नुभयो, “जुन हाम्रा मागहरु थिए, त्यो मागहरुलाई उहाँहरुले सम्बोधन गर्नै सक्नुभएन । जति आशा थियो त्यो अनुसारको काम नै भएन । अगुवाहरुको भूमिका राम्रो भएन । न हामीलाई समेटेर लानुभयो न त माग नै सम्बोधन गर्नुभयो ।”
अनि जन्मियो राष्ट्रिय परिवर्तन पार्टी
राजेश पोर्तेलले वर्तमान अन्तरिम सरकारले जेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न नसकेको भन्दै आफू राजनीतिमा सक्रिय भएको बताउनुभयो ।
पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भ उनकै नेतृत्वमा संगठन विस्तारको काम अगाडि बढेको छ । जेनजी साथै आम नेपालीहरुका माग पूरा गर्न आफूहरुले राजनीतिक दल स्थापना गरेको उहाँ बताउनुहुन्छ ।
“हिजोको आन्दोलन किन जरुरी थियो, केका लागि थियो, त्यसको मर्म के थियो भनेर कसैले बुझेन । आन्दोलन त्यत्तिकै निस्केको होइन । हजारौँ जनताहरु सडकमा के विरुद्ध किन आएको थिए भने परिवर्तनका लागि थिए । तर, जेनजीकै आन्दोलनबाट निर्माण भएको सरकार आन्दोलनकारीहरुका लागि रहेन । त्यसैले हामीले राजनीतिक दल खोल्न बाध्य भयौँ,” उहाँले अगाडि भन्नुभयो, “अहिले हामीले पार्टी खोल्नु, दल दर्ता गर्नुको कारण पनि परिवर्तनका लागि हो । बढ्दो भ्रष्टाचार, नातावादविरुद्ध हो ।”
उहाँको अनुसार पार्टीको मुख्य एजेण्डा भनेको नै जेनजी पुस्ताको मागहरु पूरा गर्नु हो । “हाम्रा एजेन्डाहरु भनेको जुन जेनजी पुस्ताले मागहरु राखेका थिए, त्यो पूरा गर्नका लागि हो । जेनजीले बनाएको सरकारले उल्टै जेनजीलाई धरपकड एवम् पक्राउ गर्न थाल्यो । दोषीहरुलाई खुलेआम छाडिदियो । घाइते र सहिदहरुलाई न्याय दिन्छ भन्ने आशा नै निराशामा बद्लिदियो । त्यसैले हामी आम नेपालीहरुको न्यायका लागि दल दर्ता गरेर राजनीतिमा आएका हौँ,” उहाँले भन्नुभयो ।
घाइते शरीर लिएर भएपनि अब न्यायका लागि चुनावमा लड्ने घोषणा पनि उहाँले गर्नुभयो । उहाँका अनुसार आउँदो मंसिर २७ गते झापाको दमकमा एक बृहत् आम भेला गरेर आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गर्ने पनि बताउनुभयो ।
संगठन विस्तारको योजना
राष्ट्रिय परिवर्तन पार्टीले देशभर संगठन विस्तारलाई तिब्र बनाएको पनि उहाँले बताउनुभयो । शून्य भ्रष्टाचार, इमान्दार राजनीति, पारदर्शी व्यवहारका लागि युवाहरुको साथ लिएर संगठन विस्तारको काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।
“यतिबेला हामी संगठन विस्तारको प्रारम्भिक चरणमा छौँ । नयाँ साथीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर काम गर्ने सोचमा छौँ । यही मंसिर २७ गतेका दिन दमकको आदिवासी रंगशालामा एउटा बृहत् आम भेला गर्ने निर्णय गरेका छौँ । सोही दिनबाट हामी देशव्यापी अभियानमा हुने छौँ,” उहाँले भावी योजना सुनाउनुभयो ।
राष्ट्रिय परिवर्तन पार्टीसँग जेनजी युनाइटेडदेखि लिएर विभिन्न समूहरु जोडिनेक्रमा रहेको सुनाउँदै उहाँले पूर्व–पश्चिम संगठन विस्तारका लागि सयौँ व्यक्तिहरुसँग संवाद भइरहेको उहाँले बताउनुभयो । घाइते शरीर लिएरै संगठन विस्तारमा घर घरमा पुग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
“हामी अब कसैलाई भरोसा गर्नेवाला छैनौँ, आफ्ना मागहरु आफैँ पूरा गर्न चाहन्छौँ । चुनावमा भाग लिन्छौँ र सरकारमा प्रतिनिधित्व गरेर जनताका मागहरु पूरा गर्ने छौँ,’ उहाँले भन्नुभयो ।
पुराना पार्टीहरुलाई अपमान गर्दैनौँ
हुनतः पुराना भनिएका पार्टीहरुले जति गर्नुपर्ने थियो गर्न नसकेको उहाँको बुझाइ छ । “काम नै गरेनन् भनेर त भन्दैनौँ । जिरो योगदान थियो भनेर भन्न सकिँदैन । केही काममा परिवर्तन अवश्व ल्याउनुभएको हो । तर, प्रवृत्ति र व्यवहार सच्याउन सक्नुभएन । सबै नराम्रो मात्रै भन्न मिल्दैन । तर, यत्रो वर्षमा गरेको परिवर्तन चित्तबुझ्दो भएन,” उहाँले अगाडि भन्नुभयो,“विश्वका सयौँ देशहरु कहाँ पुगिसके । विकासको फड्को मारेर कति अगाडि पुगिसके । अहिले हाम्रो देशको अवस्था हेर्नुभयो भने तुइन तरेर विद्यालय जानुपरिरहेको छ ।”
उहाँले आफू हाल पार्टी अध्यक्ष भएपनि निकट भविष्यमै युवा पुस्तालाई पद हस्तान्तरण गर्न तयार रहेको बताउनुभयो । म शरीरको यस्तो अवस्था लिएर किन हिँडिरहेको छु भने युवाहरुलाई प्रोत्साहित गर्नलाई हो । युवाहरुलाई राजनीतिमा आकर्षित गर्न र देशको नेतृत्व युवा पुस्ताको काँधमा होस भन्नका लागि हो । सँगसँगै अघि बढौँ र देश परिवर्तन गरौँ भन्नका लागि हो ।’ –नेपाल न्यूज बैङ्क