काठमाडौँ, २२ मङ्सिर । लामो समयसम्म नेकपा (एमाले)को नेतृत्वदायी भूमिकामा सक्रिय रहनुभएका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका ताराप्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य हुनुहुन्छ ।
नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पुराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो धारणा स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन् र पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदै छन् ।
जोशी भन्नुहुन्छ, “एमालेबाट प्रदेश सभामा निर्वाचित भइसकेपछि डर र जिम्मेवारीका कारण करिब पाँच वर्षसम्म मैले केही बोलिनँ । तर, कार्यकालको अन्त्यतिर नयाँ राजनीतिक दलहरू निर्माणको आवश्यकता देखेँ ।” २०७९ सालको निर्वाचनमा भने उहाँ डडेलधुराको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित हुनुभएको थियो ।
जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचनाको कमजोरी खुलाएको र नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने वातावरण बनाइदिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनले युवाहरूको नयाँ सोचलाई संस्थागत गर्नुपर्ने आवश्यकता स्वाभाविक रूपमा अघि बढाएको छ ।
यस्तै, निष्कर्षले गर्दा नै ‘उज्यालो नेपाल पार्टी’ निर्माणतर्फ आफू र आफ्नो समूह अघि बढेको उहाँको दाबी छ । “अब वैकल्पिक राजनीति दलहरु वैकल्पिक रहनेवाला छैनन्, किनभने यो मूलधारको शक्ति हुँदै छ,” जोशीको ठहर छ ।
पुराना दलहरूको ३५ वर्षे शासनको समीक्षा गर्दै जोशीले भन्नुभयो, “पुराना दलहरूले सुशासनमाथि गरेको गम्भीर बेवास्ताका कारण संस्थागत संरचना अत्यन्तै कमजोर बन्न पुग्यो । ती पार्टीहरुले लोकतन्त्रलाई नै कलङ्कित बनाउनुनका साथै आर्थिक प्रणालीलाई समेत भाइब्रेन्ट बनाउन सकेनन्, यो लोकतन्त्रको कुरूप अनुहार हो, यस्तो व्यवस्थाबाट सुधारको अपेक्षा गर्न सकिन्न ।”
उहाँका अनुसार २४ घण्टामै राज्यका प्रमुख संस्था धराशायी हुने अवस्थाले पूराना दलहरूको कमजोर शासनशैली उदाङ्गो बनाइदियो । भ्रष्टाचार, कमजोर सुशासन, नातावाद–कर्मकाण्ड, कमजोर भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा असफलता जस्ता कुराहरुले पुराना दलप्रतिको जनविश्वास लगभग समाप्त भइसकेको उहाँको ठम्याइ छ ।
जोशी भन्नुहुन्छ, “जेनजी आन्दोलन अघिल्ला राजनीतिक क्रान्तिमा छुटेको सुशासनको पक्षलाई पुरा गर्ने पूरक आन्दोलन थियो । पुराना दलहरूको मनोविज्ञान परिवर्तन हुन नसक्ने भएकाले हामी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख भएका हौँ ।”
पछिल्ला दशकमा सूचना प्रविधिको विस्तार, विश्वसँगको तीव्र अन्तरसम्पर्क र नयाँ पुस्ताको स्वतन्त्र सोचले राजनीतिक परिवर्तनको नयाँ लहर आएको अवस्थामा नयाँशक्ति निर्माणको आवश्यकता परेको उहाँले बताउनुभयो । आन्दोलनले ल्याएका परिवर्तनहरूलाई दिगो बनाउने, संस्थागत गर्ने र नयाँ राजनीतिक मार्गचित्र तयार पार्ने अभिभारा उज्यालो नेपाल पार्टीले लिन खोजिरहेको उहाँको भनाइ छ ।
पुराना दलहरूले वर्षौँदेखि सिद्धान्तका नाममा धेरै कुरा बोले पनि व्यावहारिक रूपमा ५ प्रतिशत पनि कार्यान्वयन गर्न नसक्दा जनतामा तीव्र निराशा बढेको जोशीको ठम्याइ छ । “सुदूरपश्चिमदेखि कर्णालीसम्म विकासको ठुलो सम्भावना हुँदाहुँदै पनि मुलुकले एक भाइब्रेन्ट आर्थिक प्रणाली निर्माण गर्न नसक्दा रोजगारी सिर्जना हुन सकेन र श्रमशक्ति विदेशिन बाध्य भयो,” उहाँले भन्नुभयो ।
भौतिक पूर्वाधारमा आवश्यक लगानी नपुगेको, रोजगारीका विशेष प्याकेज नबनेको र राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग सन्तुलन कायम गर्न नसकिएको कारण आर्थिक गतिशीलता हराएको उहाँको भनाइ छ ।
आगामी चुनावबारे बोल्दै उहाँले कांग्रेस र एमाले दुवै अधिवेशनमा व्यस्त हुने भएकाले समयमै चुनावी तयारीमा पुग्न कठिनाइ हुने अनुमान गर्नुभयो । उहाँले पुराना दलहरूबीच गठबन्धन अब असम्भव रहेको उल्लेख गर्दै कांग्रेस–एमालेबीच नैतिक, सामाजिक र राजनीतिक आधार कमजोर भइसकेकाले जनताले अप्राकृतिक एकतालाई स्वीकार नगर्ने दाबी गर्नुभयो । नयाँ राजनीतिक शक्तिहरूबीच एकता सम्भव देखिन्छ भन्दै उहाँले त्यतातिर प्रयास भइरहेको बताउनुभयो । तर, नयाँ दल बन्दैमा मात्र सुशासनको ग्यारेन्टी नरहेको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार नयाँ दलसँग पूराना जस्तै जकडिएका संरचना नभएकाले जनतालाई कसले वास्तविक डेलिभरि दिन सक्छ भन्ने आधारमा संगठन निर्माण भइरहेको छ, तर जनताको विखण्डित मनोविज्ञानलाई एउटै विकास–एजेन्डामा जोड्नु नयाँ शक्तिका लागि ठुलो चुनौती बनेको छ । उहाँले उचित योजना र स्पष्ट एजेन्डाका माध्यमबाट नयाँ शक्तिले जनताको ऊर्जा एक दिशामा मोड्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
‘वैकल्पिक राजनीति अब मेनस्ट्रिम हुँदै छ’
डा.जोशीका अनुसार वैकल्पिक सोच हिजोका पुराना पार्टीले पटक पटक जनतालाई धोका दिएको उपज हो । आजको पुस्ताको राजनीतिक मानसिकता नै बदलिएपछि वैकल्पिक शक्तिको जन्म भएको हो । पुराना पार्टीहरू मेनस्ट्रिम रहेकै समयमा बनिएको सोच र आजको सोचबीच ठुलो दुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
“यही कारण वैकल्पिक भनिएका पार्टीहरू अब वैकल्पिक रहनेवाला छैनन् उनीहरूको एजेन्डा र सोच नै ‘मेनस्ट्रिम’ हुँदै छ । हामीले पार्टी घोषणा गर्नेबित्तिकै जनता र मिडियाबाट आएको आकर्षणले देखायो कि नयाँ शक्ति अब, औपचारिक रूपमा मेनस्ट्रिममा प्रवेश गर्दैछ,” उहाँले भन्नुभयो ।
जोशीका अनुसार १२७ भन्दा बढी नयाँ पार्टी दर्ता भएका बेला, कुन पार्टी मेनस्ट्रिम बन्ने हो भन्ने प्रश्न उसले बनाएको संरचना, उद्देश्य, नेतृत्व र कार्यक्रमले निर्धारण गर्नेछ ।
धेरै नयाँ दल खोलिँदैमा सबैको भूमिका बराबर नहुने बताउँदै उहाँले अहिले खोलिएका र पुराना सबै दलमध्ये कुनै एकदल मात्र मेनस्ट्रिम हुने धारणा व्यक्त गर्नुभयो । अहिले नयाँ पार्टीहरुप्रति जनता र मिडियाको आकर्षणले जुन संकेत गरिरहेको छ, त्यसले उनिहरु मेनस्ट्रिम हुने संकेत दिएको उहाँको दाबी छ ।
उज्यालो नेपाल पार्टी अरुभन्दा फरक रहेको दाबी गर्दै उहाँले यसको यात्रा पनि मूलधारतर्फ अघि बढेको बताउनुभयो । “हामी मेनस्ट्रिम हुने बाटोमा किन पनि छौँ भने हामीले डेलिभरिमा केन्द्रित संगठन निर्माण गरिरहेका छौँ । पुराना दलको संगठन जेल, संघर्ष वा परम्परागत विचारमा आधारित भए पनि उज्यालो नेपाल पार्टी ‘डेलिभरि दिन सक्ने व्यक्तित्व’ केन्द्रित संस्थागत संरचनामा आधारित रहनेछ,” उहाँले थप्नुभयो, “हाम्रो पार्टीमा नेतृत्वको स्पष्ट भूमिका विभाजन गरिएको छ । साथै कुलमान घिसिङ ‘मेन्टर’ को भूमिकामा रहनु हुने छ । उहाँ हाल सरकारमा रहेकाले पार्टीको जिम्मेवारी अनुप उपाध्यायले लिनुभएको हो । यो सांगठनिक जिम्मेवारी र आन्तरिक आचारसंहिता हो, नैतिक मानक हो ।”
यस्तै, नयाँ दलहरुले युवापुस्ताको सोच र डिजिटल जेनरेसनको मनोविज्ञानलाई प्राथमिकता दिएको भन्दै उहाँले सूचना प्रविधि र एआई युगमा जन्मिएको नयाँ नागरिक मानसिकता नेपालको पुरानो राजनीतिभित्र अटाउन नसकेकाले नयाँ दलको आवश्यकता परेको बताउनुभयो ।
कुलमान घिसिङलाई मन्त्री नियुक्त गरिएपछि उठेका विभिन्न प्रश्नबारे पनि टिप्पणी गर्दै उहाँले घिसिङले सम्पत्ति विवरण बुझाइसकेको बताउँदै राजनीतिमा नयाँ मान्छे आएका बेला अनावश्यक शंका उब्जिनु सामान्य भए पनि त्यसले सत्यता निर्धारण नगर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश–प्रदेशमा दल विस्तार, रोजगारीलाई मुख्य एजेन्डा
जोशीले उज्यालो नेपाल पार्टी यतिबेला युद्धस्तरमा संगठन विस्तारमा लागेको बताउनुभयो । केही जिल्लामा नगर तहसम्म कमिटी गठन भइसकेको छ भने अन्य प्रदेश र जिल्लाहरुमा पनि संरचना बनाउन थालिएको छ ।
उहाँले सुदूरपश्चिम, कर्णाली जस्ता क्षेत्रहरूको आर्थिक सम्भावनाबारे विशेष जोड दिँदै रोजगारी सिर्जना गर्न सकिने ठाउँहरूमा समेत कुनै प्याकेज नबनेको भन्दै उज्यालो नेपाल पार्टी विकास, रोजगार, स्थानीय अर्थतन्त्र सुदृढीकरण र आधुनिक आर्थिक संरचना तयार पार्न केन्द्रित हुने दाबी गर्नुभयो ।
जोशीको राजनीतिक यात्रा
जोशी लामो समय एमालेमा जिल्लास्तरको नेतृत्व सम्हाल्दै सक्रिय रहनुभएको थियो । एमाले विखण्डनपछि केही समय समाजवादीमा पनि रहनुभएका उहाँ पछिल्ला वर्षहरु स्वतन्त्र राजनीतिक यात्रामा हुनुहुन्थ्यो । त्यसबेला नै उहाँका धेरै साथीहरूले पुराना पार्टीभित्र नवीनता र नयाँ सोचको परम्परा अन्त्य भइसकेको निष्कर्ष निकाले । जनता पनि नयाँ बाटो खोजिरहेकाले, उनीहरू पुराना संरचनाबाट बाहिर निस्केर नयाँ राजनीतिक आन्दोलन आवश्यक छ भन्ने मतमा पुगे ।
त्यसपछि जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभयो र तीन–चार वर्षसम्म स्वतन्त्र राजनीतिक अभ्यासमै आफूलाई समर्पित गर्नुभयो । यही दीर्घ तयारी, अनुभव र जनमानसमा देखिएको परिवर्तनको आधारमा अन्ततः उहाँ नयाँ राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख हुनुभयो, जसको परिणामस्वरूप उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको हो । “यो दुई–चार दिनको निर्णय होइन, धेरै वर्षदेखि तयार गर्दै आएको बाटो हो,” उहाँले भन्नुभयो ।