काठमाडौँ, १४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
“यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो । राष्ट्रिय गौरव कायम राखेर देश अगाडि बढ्छ भन्ने आशाका साथ अघि बढ्छौँ । देशले शान्ति कायम गर्छ,” उहाँले भन्नुभयो ।
यसैगरी महाधिवेशनमा हुने निर्वाचन प्रक्रियाबारे बोल्दै अध्यक्ष ओलीले मतदान नहोस् वा सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकियोस् भन्ने आशंका बेकार भएको स्पष्ट बताउनुभयो ।
उहाँले एमालेमा खुला प्रतिस्पर्धा सुनिश्चित हुने बताउनुभयो । “महाधिवेशनमा मतदान हुन्छ । कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ,” ओलीले भन्नुभयो ।
केन्द्रीय कमिटीमा इच्छुक नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने उल्लेख गर्दै उहाँले पार्टीका कार्यकर्ता नै सार्वभौम प्रतिनिधि भएकाले रोकथाम वा दबाबका प्रयास सफल नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने त्यस्तो खालको कुरा हुँदै होइन, रोक्नेसोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ । केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि हो ।”