पोखरामा दाइँ महोत्सव

5

गण्डकी, १३ मङ्सिर । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ आज पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको छ ।

स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा दाइँ महोत्सव गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

कृषि पर्यटनमार्फत नेपालको पर्यटन क्षेत्रलाई अझ फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्‍याउन उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

यसैबीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धसँगै भावी पुस्तालाई परम्परागत कृषि प्रणालीको जानकारी गराउँदै कृषिप्रतिको आकर्षण बढाउन महोत्सव उपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने यस किसिमका गतिवधिले पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुग्ने धारणा राख्नुभयो ।

महोत्सवका कार्यक्रम संयोजक हरि भुजेलले कृषिका माध्यमबाट आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, कृषकलाई प्रोत्साहन गर्ने, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनेलगायत उद्देश्य राख्दै महोत्सव आयोजना गरिएको जानकारी गराउनुभयो ।

परिषद्को आयोजनामा हरेक वर्ष असारे रोपाइँ महोत्सवसमेत आयोजना गर्दै आइएकामा उक्त महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादनका प्रक्रियाबारे चासो राख्ने गरेकाले परम्परागत कृषि प्रक्रियाबारे जानकारी गराउन दाइँ महोत्सव गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवका अवसरमा पोखरा महानगरभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने पोखरा–२३ का कृषक फवेन्द्रकुमार गुरुङलाई सम्मान गरिएको थियो । उहाँलाई महानगरप्रमुख आचार्यले १० हजार रूपैयाँ र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । उहाँले करिब २०० रोपनीमा धानखेती गरी ५०० मुरी उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।

दाइँ महोत्सवमा आएका विदेशी पर्यटकले यो महोत्सव आफ्ना लागि रमाइलो अनुभूति भएको बताउँदै परम्परागत शैलीबाट गरिने कृषि प्रणालीलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट गोरुपालक किसान, उत्कृष्ट धान उत्पादक, धान चुट्ने, परालको भारी बाँध्ने, गुन्द्री बुन्नेलगायत प्रतियोगिता आयोजना गरी प्रत्येक विधाका विजयीलाई पुरस्कृत गरिएको परिषद्का सचिव नारायण सुवेदीले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाभित्र यस वर्ष ११ हजार २५० हेक्टरमा धानखेती गरिएकामा ४० हजार मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...