बिमामा रहेको बेथितिलाई हटाउने काम प्राथमिकतामा राखेका छौँ : मन्त्री शर्मा

5

काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले औषधिको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको बेथिति हटाउने कुरालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य मन्त्रालयअन्तर्गत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधिको व्यवस्थापन, आपूर्तिमा र बिमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलका लागि प्रतिज्ञा गरेका छौँ र हाम्रो प्रणाली सुदृढीकरण गर्नका लागि प्रतिज्ञा गरेका छौँ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिँदै गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधिको व्यवस्थापन, आपूर्तिमा र बेथितिको पराकाष्टमा रहेको भनेको बिमा हो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।”

यस्तै, उहाँले आगामी दिनहरुमा फेरि औषधिको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस् भनेर त्यो प्रकारको पूर्वतयारी गर्न लागिरहेको पनि बताउनुभयो ।

बिमाको सन्दर्भमा हाल भएको बिमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमा अध्ययनको क्रम जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...