एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

8

काठमाडौँ, ९ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

आज वक्तव्य जारी गर्दै उहाँले पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले वक्तव्यमा भन्नुभएको छ,“पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।”

उहाँले पार्टीका नेता तथा कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत् एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एमालेको महाधिवेशन यही मङ्सिर २७–२९ गते काठमाडौँमा हुँदै छ । महाधिवेशनका लागि यही मङ्सिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदै छन् । उहाँले प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई आह्वानसमेत गर्नुभएको छ ।

पार्टीको रक्षामार्फत् राष्ट्र र नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु सबैको साझा दायित्व रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्तरिक लोकतन्त्र समृद्ध भएको पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्नेसमेत बताउनुभयो ।

उहाँले महाधिवेशनसमक्ष प्रस्तुत गर्ने आफ्नो राजनीतिक तथा साङ्गठानिक दृष्टिकोणको बिस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्ने पनि उल्लेख गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...