जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

6

नेपालगञ्ज, ९ मङ्सिर । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्सोटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् ।

“हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ”, मिनी गाभर सामुदाियक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भन्नुभयो । उहाँले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुसी हुने गरेका बताउनुभयो । यस बाहेक नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि थप सफारी जीप सञ्चालन गर्ने तयारी गरेका छन् ।

मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले निकुञ्जमा सफारी गर्न आउने पर्यटकको माग बढ्न थालेको उल्लेख गर्दै निकुञ्जमा जङ्गल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले दुई थान सफारी जीप सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले दिनहँजसो २५ देखि ३० जनाको समूहमा पर्यटक काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र भारतका लखनउ, बहराइच तथा ठुला सहरलगायतका स्थानबाट आउने गरेको बताउनुभयो ।

थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पर्यटक जङ्गल सफारीसँगै थारु संस्कृतिमा नै रमाउने गरेको चौधरीको भनाइ छ । होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जङ्गल सफारी तथा जङ्गलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ । सफारीबापत् चार घण्टाको १२ हजार रूपैयाँ र आठ घण्टाको १६ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ । जङ्गलमा रात्रि बास र खान तथा बस्नको लागि अलग प्याकेज रहेको छ ।

होमस्टेमा आउने पर्यटक प्रायः सफारी गर्न र जङ्गलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका र निकुञ्जभित्र जङ्गल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक पटक अवलोकन गर्न पाएका थिए ।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले निकुञ्जभित्रको बाटो खुला भइसकेको र यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न पाइने भएकाले बन्यजन्तु हेर्न निकुञ्जमा आउन आग्रह गर्नुभयो ।

नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्रायाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सिग्देलले निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको धारणा राख्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै जङ्गल सफारीका लागि नीजि लगानी बढ्न थालेको बताउनुभयो । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...