प्रहरीको हतियार खोस्न खोज्ने एक जना पक्राउ

13

खाँदबारी, १ मङ्सिर । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

विश्वकर्मा जबर्जस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । छुटेपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए । परिस्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिनुभयो ।

गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...