रुपन्देही, २९ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । आज यहाँको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । “यो सरकारको दायित्व नै निर्वाचन गराउने हो । जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ”, उहाँले भन्नुभयो ।
पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र सङ्घीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइपर्ने धारणा राख्नुभयो ।
पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।