म्याग्दी, २९ कात्तिक । नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् ।
धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको प्रर्वद्धक अपर म्याग्दी हाइड्रोपावरको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा ११३ जना महिला र ७१ जना पुरुष गरी १८४ जना लाभान्वित भएका गुरु गोरख गुल्मका गुल्मपति रामभोला खड्काले बताउनुभयो ।
नेपाली सेनाको श्री नं २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङका प्राविधिक सहसेनानी डा असिम भण्डारी, प्रादेशिक अस्पताल बेनीका डा सागरबाबु ढकाल, गुरु गोरख गुल्म र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिनुभएको थियो ।
दाँत, आँखा, कान, जनरल चेकजाँच तथा अन्य सेवा प्रदान गरिएको थियो । ताकम, धारापानी, हिलापोखरी, काफलडाडा, शिवाङ, मच्छिम, काफलडाडाका बासिन्दाले सेवा लिएका थिए । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि ४५ किलोमिटर पश्चिममा रहेको ताकम घना बस्ति भएको वडा हो ।
सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर स्वाथ्य शिविर सञ्चालनका लागि नेपाली सेनालाई सहयोग गरेको अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिनुभयो ।