संघर्षबाट खारिएका ‘विशुद्ध संगीतकार’ दीपक शर्माको कथा [भिडिओ]

5
  • आकांक्षा धामी

काठमाडौँ, २८ कात्तिक । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आउनुभएका संगीतकार हुनुहुन्छ दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौँ पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित हुनुहुन्छ । उहाँले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिनुभएको छ, जसमा दुई–तीन सय गीतका शब्द पनि उहाँ आफैँले लेख्नुभएको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।”

म्याग्दीमा जन्मिनुभएका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्र माध्यम रेडियो नेपाल थियो । त्यहीँ रेडियो सुन्दै हुर्किनुभएका उहाँले आफूभित्र संगीतप्रतिको चाहना र प्रतिभा जागेको बताउनुहुन्छ । परिवारमा कसैको पनि औपचारिक संलग्नता संगीतमा नभए पनि, भाग्य र मेहनतले उहाँलाई यस क्षेत्रमा डोहोर्‍यायो ।

“प्रारम्भ पनि हो, तर त्यसमा साधना र मेहेनतको भूमिका ठुलो हुन्छ,” उहाँ भन्नुहुन्छ, “म्याग्दीको गाउँबाट काठमाडौँ आउँदा संगीत सिक्ने वातावरण नै थिएन । तर, मनमा अठोट थियो संगीतकै क्षेत्रमा केही गर्नुपर्छ ।”

काठमाडौँ पुगेपछि शर्माले संघर्षको लामा यात्रा सुरु गर्नुभयो । बसोबासको अभाव र जीविकोपार्जनका कठिनाइबीच उहाँले होटलका साना कामदेखि सडकमा व्यापारसमेत गर्नुभयो । तर, संगीतप्रतिको लगाव उहाँले कहिल्यै छाड्नुभएन । “संगीत पढ्न, सिक्न, र साधनामा निरन्तर लागिरहेँ,” उहाँले सुनाउनुभयो ।

स्कुलका थुप्रै कार्यक्रममा उहाँले गीत गाएर पुरस्कार जित्नुभयो । उहाँले आफ्नो सपना नै गायन बनाउनुभयो । उहाँले एसएलसीपछि गायन सिक्नकै लागि गाउँ छाड्ने निधो गर्नुभयो । तर, गाउँ छाड्न त्यति सहज थिएन । झण्डै २५ वर्षअगाडि त्यो बेला मनोरञ्जनको एक मात्र साधन थियो रेडियो नेपाल । रेडियोमा बज्ने गीतहरूले उहाँलाई तान्थे कसरी बनाउँछन् यस्तो गीत ? भन्ने जिज्ञासाले दीपकको मनभित्र संगीतको बीउ रोपियो ।

दीपक गायक बन्ने सपना बोकेर काठमाडौँ पसेका थिए । घरमा कोही पनि गीतसंगीतसँग सम्बन्धित थिएनन्, अझ गाउँको सोच यस्तो थियो ‘गीत गाएर त परिवार पाल्न सकिँदैन नि ।’ त्यसैले उहाँले संगीतको बाटो रोज्दा समाज र परिवार दुवैसँग संघर्ष गर्नुपर्‍यो ।

संगीत सिक्दै जाँदा उहाँले बुझ्दै जानुभयो । गीतको लय हाल्ने मान्छे नै ‘संगीतकार’ हो । यही बुझेपछि उहाँले आफ्ना सपनाहरूलाई स्वर दिन थाल्नुभयो । साथीहरूको सहयोगमा उहाँले पहिलो गीत ‘ढल्के पीपल’ तयार गर्नुभयो, शब्द र संगीत दुवै आफ्नै । लगानी साथीहरूले गरे, रेकर्डिङ भयो, र यही गीतले उहाँलाई संगीतको संसारमा प्रवेश गरायो ।

उहाँ भन्नुहुन्छ, “आजभन्दा २० वर्ष पछाडिका हामीले परिघटना हेर्‍यौँ भने २५ वर्ष अगाडि म जब बाल्यकाल हुँदाखेरिको कुरामा त्यतिबेला स्कुल पढिरहेको म । अब संगीतमा आउन सक्ने वातावरण के ले बनायो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ । गाउनेभन्दा पनि धेरै स्कुलतिर सांस्कृतिक कार्यक्रम हुन्थ्यो । सांस्कृतिक कार्यक्रममा गीत बनाउने, लेख्ने काम हुन्थ्यो । म आफू आबद्ध भएको क्लब बाहेक अरु क्लबले नि मलाई गीत लेख्न लगाउनुहुन्थ्यो । अहिले आएर बुझ्दा, त्यो गीतमा मेलोडी हाल्ने, लय हाल्ने भनेको संगीतकारले गर्दा रहेछन् । त्यसलाई संगीतकार भनिँदो रहेछ ।”

काठमाडौँ आइपुग्दा उहाँको हातमा एउटा पुरानो झोला थियो, मनमा ठुला सपना । न पैसा, न घर, न आफन्त । पढ्न र बाँच्नको लागि उहाँले होटलमा काम गर्नुभयो, सडकमा व्यापार गर्नुभयो । बिहान काम, बेलुका संगीत सिक्ने दैनिकी चलिरहयो । काठमाडौँमै बाँच्ने र सिक्ने तालमेलमा उहाँले आफ्नो जीवनको पहिलो अध्याय लेख्नुभयो । दीपक भन्नुहुन्छ, “रेडियो नेपाल नै मेरो प्रेरणा थियो । घर–परिवारमा कोही कलाकार थिएनन्, तर त्यही रेडियोले संगीतको भूत सवार गरिदियो ।”

एसएलसी सकेर काठमाडौँ आउँदाको अवस्था सम्झँदा उहाँ भावुक बन्छन्, “कसरी संगीत सिक्ने भन्ने पनि थाहा थिएन । घर थिएन, आफन्त थिएनन् । होटलमा काम गरेँ, सडकमा जुत्ता–चप्पल बेचेँ । तर, संगीतलाई कहिल्यै छाडिन । बाँच्नका लागि काम गरेँ, बाँच्ने अर्थका लागि संगीत गरेँ ।”

काठमाडौँ बसाइका सुरुवाती दिन सम्झदै उहाँ भन्नुहुन्छ, “निकै गाह्रो थियो । गाउँबाट आएको एउटा केटोलाई सहज थिएन । काठमाडौँ जस्तो सहरमा देशका विभिन्न ठाउँबाट आफ्नो लक्ष्य बोकेर आएका मजस्ता कति धेरै मानिससँग मुकाबिला गर्नुपर्थ्ये । संगीतमा झन धेरै संघर्ष थियो । तर, गर्दै जाँदा समयले धेरै कुरा सिकाउँदो रहेछ ।”

यही समयले उहाँलाई आफूभित्रको क्षमता चिनायो, गायन मोह छाडेर संगीतकारका रुपमा स्थापित गरायो । संगीत जीवनका सुरुवाती दिनमा उहाँले थुप्रै गीतकारको दैलो धाउनुभयो । तर, उहाँलाई नयाँ भनेर कसैले विश्वास गर्दैनथे । त्यसपछि उहाँले गीत पनि आफैँ लेख्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, “संगीतले मलाई नयाँ जीवन दियो । नयाँ पहिचान दियो । अन्य पेसामा लागेको भए यति खुसी नहुन पनि सक्थेँ । अहिले म आफ्नो पहिचानमा खुसी छु । संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैर्य गर्न सक्ने र मेहनत गर्‍यो भने सफलता प्राप्त गर्न सकिन्छ ।”

तर, उहाँले संगीतमा पाइला राख्दाखेरि समय बदलिँदै थियो । क्यासेटको जमाना समाप्त हुँदै, डिजिटल युग प्रवेश गर्दै थियो । गीत सुन्नका लागि अब मान्छेले सिडी होइन, मोबाइलमा सेयर–बिटी र बिआर–बीटी डाउनलोड गर्न थालेका थिए । दीपकले पनि यो परिवर्तन बुझेर त्यही बजारका लागि गीत बनाउन थाल्नुभयो ।

त्यो समय अन्जु पन्तको स्वरमा आएको ‘मलाई आफ्नो बनाएर दुःखी बन्छौँ भने’ नामको गीतले दीपकलाई चर्चाको शिखरमा पुर्‍यायो । त्यसपछि स्वरूपराज आचार्यको ‘जिन्दगीकै सवाल हुन्छ, चोखो माया कि’ र प्रमोद खरेलको स्वरमा रहेको ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए’ जस्ता गीतहरूले उहाँलाई नेपाली संगीतको सशक्त नाम बनाए ।

उहाँ भन्नुुहुन्छ, “चोक, चोकमा त्यतिबेला ६७–६८–७० सालतिर हामीले हेर्‍यौँ भने कति याद गर्ने मान्छेलाई, चोक चोकमा गीत हाल्ने पसल थिए । क्यासेट पसल परिमार्जित भएर गीत हाल्ने पसल थिए । मेमोरीमा, पेन ड्राइभमा गीत हाल्ने थियो । त्यो बेलामा ठ्याक्कै म बजारमा अब म काम गर्छु, अलिकति केही समय म म्युजिकलाई अध्ययन गर्छु, काम गर्नुपर्छ भन्ने हिसाबले बिटि पियरी बिटिको लागि अलि बढी महत्त्व दिएर तयार पारेको गीत अञ्जु पन्त दिदीले गाउनुभएको, ‘मलाई आफ्नो बनाएर दुःखी बन्छौँ भने’ भन्ने गीतले मलाई चिनाउने मौका दियो ।”

तर, त्यो उचाइसम्म पुग्नुअघि उहाँले असफलताको धेरै चरणहरू पार गर्नुभएको थियो । पहिलो चलचित्र ‘तेजप’मा संगीत गर्नुभयो, तर गीतहरू ‘सुपर फ्लप’ भए । उहाँ सम्झिनुहुन्छ, “त्यो बेला यदि हिट भएको भए म घमण्डी बन्थेँ होला, साधना गर्न भुल्थे होला ।” त्यस असफलताले नै उहाँलाई अझ गहिरो साधनातिर फर्कायो ।

साधनाको ती वर्षहरूपछि उहाँले पुनः चलचित्र संगीतमा फर्किँदै ‘सम्झिराख है’ फिल्मका लागि संगीत गर्नुभयो र पहिलो पटक डी–सिने अवार्ड जित्नुभयो । त्यो पुरस्कार केवल उहाँका लागि सम्मान होइन, संघर्षको कदर थियो ।

आज, दुई दशकभन्दा बढी समय बिताइसक्नुभएका दीपक शर्मा आफूलाई गर्वका साथ भन्नुहुन्छ, “म विशुद्ध संगीतकार हुँ ।” उहाँले १२०० भन्दा बढी गीतमा संगीत दिनुभएको छ, करिब ३०० गीत आफ्नै शब्दमा लेख्नुभएको छ । लोकगीतदेखि आधुनिक, गजलदेखि चलचित्रसम्म, उहाँले संगीतका सबै रूपहरूमा हात हाल्नुभएको छ । तर, सफलता सजिलो थिएन । उहाँले आज पनि संघर्षको कथा भुल्नुभएको छैन । “संघर्ष नै जिन्दगी हो,” उहाँ भन्नुहुन्छ, “म अझै पनि साधनामै छु । संगीत मेरो धर्म हो, मेरो श्वास हो ।”

म्याग्दीको गाउँबाट काठमाडौँको भीडमा आइपुग्नुभएका उहाँ अहिले नेपाली संगीतको बलियो स्तम्भ बन्नुभएको छ । तर, उहाँलाई घमण्ड छैन, अहम् छैन, केवल कृतज्ञता छ, साधनाको शान्ति छ ।

उहाँले संगीत गर्नुभएको थुप्रै गीतले करोड क्लबमा अड्डा जमाएका छन् । दीपकले संगीत गरेका फिल्मका गीतहरु करोड मात्र होइन अर्बमा क्लबमा प्रवेश गरेका छन् । बालगीत ‘आफूसित आफैँ दंग’ले युट्युब सर्ट्समा अभूतपूर्व सफलता हासिल गरेपछि उहाँको चर्चा थप चुलिएको छ । रामबाबु सुवेदीको युट्युब च्यानलमार्फत् ८ महिनाअघि सार्वजनिक गरिएको छोटो भिडिओ अहिलेसम्म एक अर्ब दुई करोडभन्दा बढी पटक हेरिएको छ ।

म्याग्दीको गाउँबाट काठमाडौँको सडक हुँदै नेपाली संगीतको मञ्चमा उभिनुभएका दीपक शर्माको कथा केवल एक कलाकारको यात्रा होइन, यो साधना, संघर्ष र सुरको कथा हो । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...