सिन्धुली, २८ कात्तिक । तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा)को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही कात्तिक १७ गते घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो । यही कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलक बहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास अभियान थालेको थियो ।
घाँटीमा सलले कसेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले दुधौली नगरपालिका–१३ का २९ वर्षीय बुद्ध बहादुर कामी, दुधौली–१२ का अर्जुन विक र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का २६ वर्षीय धर्मराज रामलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घटनामा दुधौली–१३ का सूर्य बहादुर कामी र उनका भाञ्जा टङ्क बहादुर कामी संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।
सूर्य बहादुरलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो । उनले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका छन् । घटनामा संलग्न भनिएका सूर्य बहादुरका भाञ्जा टङ्क बहादुरलाई दुधौली–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
मृतक छत्रकुमारीको मोबाइल फोन अभियुक्त सूर्य बहादुरले फ्याँकेको ठाउँबाट प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले घाँटी थिची गरिएको पुष्टि भएको छ । प्रारम्भिक बयानअनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । लामो समयदेखि अवैध सम्बन्ध रहेको र अरुले थाहा पाउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक छत्रकुमारीका श्रीमान् महेन्द्र बहादुर थापा र सासू–ससुरा भारतमा काम गर्दै आएका छन् । घटनाको थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिको खोजी तथा प्रमाण सङ्कलन कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।