काठमाडौँ, २५ कात्तिक । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको सहिदको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित भ्रष्टाचार नियन्त्रणको भावी रणनीति अन्तरक्रियात्मक छलफलमा बोल्दै उहाँले जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।
थन्केर बसेका फाइल खोल्दा मात्र पनि ठुलो भ्रष्टाचारको विरुद्धमा माहोल सिर्जना हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने अहिलेको चुनौती त्यहीँ नै हो । थुप्रै अध्ययन भएर फाइलहरु थन्केर बसेका छन् । तिनलाई खोल्दामात्र पनि ठुलो भ्रष्टाचारको विरुद्धमा माहोल सिर्जना गर्न सकिन्छ । जेनजी आन्दोलनको रापताप सेलाउँदै गएर आन्दोलनमा बगेको सहिदको रगत खेरा जाला कि भन्ने चिन्ता लागेको छ ।”
त्यस्तै, उहाँले राजनीति देशको माऊ नीति भएको भन्दै राजनीति सफा नगरी अरु नीति सफा गर्न सम्भव नरहेको धारणा राख्नुभयो ।
“म के कुरामा सहमत छु भने राजनीति देशको माऊ नीति हो । जबसम्म माऊ नीति सफा हुँदैन । अरु नीति जतिसुकै सफा गर्छु भनेपनि सम्भव छैन । त्यसकारण पहिलो सुधार राजनीतिबाट हुनुपर्छ । अनि मात्र अरु क्षेत्रको सुधार गर्न सकिन्छ ।”
राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मासमिक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।
“म भ्रष्टाचार गर्दिनँ र सकेसम्म अरुलाई पनि गर्न दिन्न भन्ने कुरा भित्र मनदेखि आउनुपर्छ । त्यो केवल नाराका लागि मात्र होइन । राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मसमीक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गर्यौँ भने मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।”
उहाँले पछिल्लो समय राजनीतिमा लागेका नेताहरुलाई समेत बिचौलियाहरुले चलाउन थालेको कारण भ्रष्टाचार बढेको उहाँको ठम्याइ छ ।