- रस्मिता गिरी
काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाउनुभयो । अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताउनुभयो ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा एमालेका ऐजेण्डाहरु अनुसार देश बचाउनका लागि आफूहरु केन्द्रित रहेको बताउनुभयो । उहाँले देश जलाउनेहरूलाई आफूहरु नसमेट्ने पनि बताउनुभयो ।
“युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर, देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दै छौँ । पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौँ । एमालेले देश बचाउनेको रक्षा गरेर हिँडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेनजीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो ।
उहाँले ४६ सालपछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुभयो । उहाँले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताउनुुभयो । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुाभयो ।
उहाँले भ्रष्टचारविरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफूहरुबाटै उठ्न सुरु गरेको दाबी गर्नुभयो ।
उहाँले ‘लुसिफर’ दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताउनुभयो । भदौ २४ गते देश बचेको भए पनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताउनुभयो ।
त्यस्तै, नेकपा (एमाले)का केद्रीय सदस्य राजीव पहारीले एमालेले संसद् पुनःस्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताउनुभयो ।
“अहिले नेकपा (एमाले)ले संसद्को पुनःस्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनः व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यहीँ ढंगबाट अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो ।
त्यस्तै, राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाउनुभयो ।
बालेन र सुदनलाई वर्तमान सरकारले कारबाही नगरेता पनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिनुभयो ।
“हामीले खुल्लम खुला भनिरहेका छौँ– बालेन, सुदनहरूले नै सिंहदरबार, संसद् भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन । तर, भोलिको दिनमा दलीय सरकारले कारबाही गर्छ नै । यदि चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरु कहीँ भाग्न सक्दैनन् ।”
उहाँले यतिबेला बालेन र सुदन खुला रुपमा हिँडे पनि भोलिका दिनमा कानुनी कठघरामा उभ्याएरै चेतावनी दिनुभयो ।