- सन्तोषी रावल
काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिनुभएको छ । नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राख्नुभएको हो ।
“जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुने छ । हामी प्रतिस्पर्धा गर्छौँ, तर मेरो मत के छ भने ओलीजीले अब विश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।
थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ ।
“अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,” थापाले भन्नुभयो ।
ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औँल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौँ । उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो । तर, अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो । यो कुरा दुःखद् छ ।”
थापाका अनुसार ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन् । “उहाँ आफैँलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,” उहाँले भन्नुभयो ।
कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भन्नुभयो, “नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन् । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।”
तर, उहाँले जोड दिँदै भन्नुभयो, “जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।”
उहाँले नयाँ नेतृत्व सम्भव छ, प्रतिस्पर्धा आवश्यक छ थापाले ओलीको विकल्प सम्भव भएको दाबी गर्नुभयो । “कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो । अहिले पनि नयाँ नेतृत्व सम्भव छ । हामी विकल्प दिन्छौँ र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौँ,” उहाँले भन्नुभयो ।
एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाउनुपर्छ । पार्टीमा सबैको सम्मान हुने, कार्यकर्ताहरू सार्वभौम हुने वातावरण बनाउनुपर्छ । नेतृत्व परिवर्तन सहज ढङ्गले हुन सक्छ भन्ने विश्वासका साथ अघि बढेको थापाको भनाइ छ ।
विद्या भण्डारीको सदस्यता विवादबारे उहाँले टिप्पणी गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे थापाले पार्टीको निर्णयलाई ‘विधानविपरीत’ भन्नुभयो । “पार्टी विधानको धारा ९ अनुसार कुनै विशेष जिम्मेवारीमा पठाइएको व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ । त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण मिलेन भन्ने निर्णय गलत छ,” उहाँले भन्नुभयो ।
“एमालेजस्तो लोकतान्त्रिक पार्टीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिनु गलत निर्णय हो । यस्तो निर्णयले पार्टीमाथि धब्बा लगाएको छ र लोकतान्त्रिक मूल्यमा प्रहार गरेको छ,” थापाले भन्नुभयो ।
थापाले एमालेलाई फेरि जनताको आशा र विश्वासको पार्टी बनाउने आवश्यकता औँल्याउनुभयो । “एमाले कहिले यस्तो पार्टी थियो जहाँ असल, योग्य र सक्षम कार्यकर्ताहरूको कदर हुन्थ्यो । असल मान्छे जिम्मेवारी पाउँथे, गल्ती गर्नेहरूलाई कारबाही हुन्थ्यो । अहिले त्यो प्रणाली कमजोर भएको छ । हामी फेरि त्यही गौरव फर्काउने प्रयासमा छौँ,” उहाँले भन्नुभयो ।
उहाँले आत्मसमीक्षा पनि गर्दै ‘हामीले सत्तामा रहँदा केही कमजोरी गरेका हौँ, केही गल्ती पनि भएका छन् । ती गल्ती दोहोर्याउँदैनौँ । जनतासँग माफी मागेर हामी फेरि जनविश्वास आर्जन गर्नेछौँ ।’ थापाले अन्त्यमा भने जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो ।
“राजनीतिक पार्टीको सबैभन्दा ठुलो शक्ति जनताको विश्वास हो । आज सत्ता, पद र व्यक्तिगत स्वार्थले राजनीति प्रभावित हुन थालेको छ, तर वास्तविक शक्ति जनताको भरोसामा निहित छ,” उहाँको भनाइ छ ।
“राणाकालदेखि पञ्चायतसम्मका कठिन समयमा पनि मानिसहरू पदका लागि होइन, विचारका लागि कम्युनिस्ट आन्दोलनमा लाग्थे । त्यही भावना पुनः जगाउने बेला आएको छ । एमाले फेरि त्यस्तो पार्टी बन्नुपर्छ जसले जनताको भावना, सपना र आशा पूरा गर्न सकोस्,” उहाँले भन्नुभयो ।
“हामी यस्तो पार्टी चाहन्छौँ जसले न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माण गर्न सकोस् । एमाले फेरि त्यहीँ जनताको विश्वासमा आधारित, सुदृढ र अनुशासित पार्टी बन्नुपर्छ,” उहाँले भन्नुभयो ।