कांग्रेसका महामन्त्रीले ‘ठुलो स्वर’मात्र गरे काम गरेनन् : मोहन बस्नेत

2
  • रस्मिता गिरी

काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताउनुभएको छ ।

नेपाल न्यूज बैंक सँगको कुराकानीमा उहाँले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको बहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताउनुभयो ।

त्यस्तै, उहाँले महाधिवेशनको तयारीका लागि महामन्त्री गगन कुमार थापालाई जिम्मेवारी दिएको तर उहाँले जिम्मेवारी पूरा नगरेको बताउनुभयो ।

“म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा नीजि सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तैपनि क्रियाशीलता टुंगिएको छैन । यो सबैभन्दा ठुलो कमजोरी हो । महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन । क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ । अहिले ठुलो स्वर उहाँकै छ,” उहाँले भन्नुभयो ।

महामन्त्रीले अब ठुलो स्वर नगरी र आफ्नो कमजोरीलाई ढाकछोप नगरी चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानबिनको काम टुंगाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस नेपालको अभिभावक र सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय समस्याहरु समाधान हुने दाबी गर्नुभयो । “आजसम्म नेपालको इतिहासमा कुनै पनि किसिमको आन्दोलनको नेतृत्व कांग्रेसले गर्दाखेरि हालको जस्तो अवस्था भएको थिएन । कांग्रेसकै नेतृत्वमा समस्याको समाधान भएका छन् । त्यसैले, अब जेनजीहरूलाई नि समेट्नेगरी काम गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

महाधिवेशनका बारेमा पार्टीको विधान, कार्ययोजना अनुसार म्याद थप गर्न सकिने उहाँले बताउनुभयो ।

“आजसम्मको इतिहासमा एक वर्ष म्याद थपिएकै हो । चार वर्ष विधानले दिन्छ । एक वर्ष थप्न सकिन्छ र विशेष परिस्थिति आयो भने अर्को ६ महिना पनि थप्न सक्ने स्थिति हो । तर, त्यसरी जानुपर्ने परिस्थिति र्सिजना भएको छैन,” उहाँको भनाइ छ ।

अहिले विशेष महाधिवेशनको माग गरेर नयाँ पुस्तालाई समेट्ने र परिवर्तन ल्याउने नाममा गलत प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । यस्तो प्रक्रियाले तल्लो तहदेखिको अधिवेशन रोकिने वा प्रभावित हुने उहाँको भनाइ छ ।

“वडादेखि पालिका, क्षेत्र, प्रदेश अथवा जिल्ला हुँदै महाधिवेशन प्रक्रियामा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनले त्यो प्रक्रिया सबै रोकिन्छ । त्यो अप्रजातान्त्रिक हुन्छ, गैरजिम्मेवार हुन्छ । त्यसैले विशेष महाधिवेशन सम्भव छैन र नियमित महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा सबैले जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।

बस्नेतले कांग्रेस बैठकबाट निकास निस्किन नसकेपछि नेताहरु भाग्न थालेको आरोप पनि लगाउनुभयो । उहाँले महामन्त्रीहरु पनि बैठकबाटै भाग्न थालेको दाबी गर्नुभयो ।

नेता बस्नेतले देशको स्वाभिमानमाथि भएको आक्रमणलाई कांग्रेसले प्रतिकार गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्ने बताउनुभयो ।

कांग्रेस पार्टी जनमतमा विश्वास गर्ने भएकाले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताउँदै उहाँले सरकारले शान्ति सुरक्षाको अनुभूति हुने गरी निष्पक्ष ढंगबाट चुनाव गराउने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । तर, निर्वाचन नभए मुलुक अन्योलमा फस्ने भएकाले चुनाव अपरिहार्य भएको बताउनुभयो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...