पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

6
  • कमल खत्री

बेनी, २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो ।

उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आउनुभएका पर्यटन व्यवसायि तेज गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् ।

गतवर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाकालागि होटलहरु सञ्चालनमा आएका छन् । नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँचपुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ ।

पदमार्ग सञ्चालनमाआएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायिहरु उत्साहित बनेका छन् । अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरु हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतीहरुको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ ।

अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचारप्रसार, पूर्वाधार निर्माण र आधारभूत खाना बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाइमा नारच्याङदेखि आधार शिविरमा मनाइएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमा व्यापकता गराएको हो ।

उहाँले भन्नुभयो, ‘‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमताभन्दा बढी पर्यटकहरुको आगमन भयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसँग समन्वयगर्न लागेका छौँ, पर्यटकहरुको बसाइलाई सहज बनाउनु हाम्रो पहिलो दायित्व हो ।’’ अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पु¥याउन समेत आवश्यक पहल थालेको छ ।

पर्यटकहरुको आगमन बढेसँगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाइ अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारीसमेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रबन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रूपैयाँ बजेट परिचालन गर्ने जनाएको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...