रामेछाप, १९ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भन्नुभएको छ ।
प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताउनुभयो । “असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यान्डेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन । किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउ पुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन,” उहाँले भन्नुभयो ।
निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकाले नेकपा (एमाले)ले संसद् पुनःस्थापनाको माग गरेको गुरुङले बताउनुभयो । “संसद् पुनःस्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनःस्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ,” उहाँले भन्नुभयो ।
एमालेले जनताको बीचमा गएर संसद् पुनःस्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठमाडौँसम्म विभिन्न भेला, जनपरिचालन, जनसभालगायतका कार्यक्रम गर्न लागेको उहाँले जानकारी दिनुभयो । यदि अदालतले निर्वाचनमा जाने फैसला गर्यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाउनुभयो ।
गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गर्नुभयो । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उहाँले बताउनुभयो । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उहाँको भनाइ छ । “राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन,” उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको राष्ट्रियताप्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उहाँले बताउनुभयो । आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ । “सबै प्लानिङका साथ बदला लिने काम भएको हो,” उहाँले भन्नुभयो ।