हर्क साम्पाङका समर्थकहरु भन्छन्– ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’

10
  • मुकेश कुँवर

काठमाडौँ, १६ कात्तिक । हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दाबी गरेका छन् ।

आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि नेपाल न्यूज बैंक सँगको कुराकानीमा समर्थकहरुले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् ।

समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औँल्याउनुभयो । उहाँले पार्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । पुराना पार्टीहरुले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उहाँको भनाइ थियो ।

“हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ । आगामी दिनमा पार्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वस्त छौँ । पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,” उहाँले भन्नुभयो ।

अर्की समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गर्नुभयो । “माटो र ढुङ्गा बिना पृथ्बी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृति राखेका हौँ । अनि चुनाव चिन्ह माटो रोजेका हौँ,” उहाँले अगाडि भन्नुभयो, “आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ । हर्क साम्पाङले गरेको कामलाई निरन्तरता दिँदै देश बनाउने छौँ ।”

अर्का समर्थक इन्द्र कुमार चाम्लिङले नेपालमा हर्क साम्पाङजस्तै श्रम गर्ने नेता आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले बोलेर वा भाषण गरेर मात्र देशको विकास नहुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “श्रम गरेर मात्र देशको विकास हुन्छ, बोलेर वा भाषण गरेर विकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौँ । देशमा श्रम गर्ने नेता चाहिएको छ । हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समुदाय नभनी पार्टी निर्माण गरेका हौँ ।” –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...