खाँदबारी, १६ कात्तिक । सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।
प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो ।
उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली पर्यटक फसेका थिए ।