- प्रमिला कार्की
काठमाडौँ, ३ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्युत व्यवस्थापनमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “तिहारको बेलामा भन्दा धेरै विद्युत् खपत त अरु बेला नै हुन्छ । तिहारमा डोमेस्टिक लोड अलिकति बढ्ने चाहिँ हो, तर उद्योगहरू प्राय बन्द हुन्छन् । किनभने कामदारहरूलाई पनि छुट्टी हुने हुदाँखेरि विद्युत्को समग्र माग चाहिँ तिहारमा त्यस्तो धेरै हुँदैन । त्यसले गर्दाखेरि हामीलाई व्यवस्थापन गर्न गाह्रो छैन ।”
उहाँले आम जनतालाई ढुक्क भएर सक्दो विद्युत् खपत गर्न आग्रह समेत गर्नुभयो । सानोतिनो प्राविधिक समस्याबाहेक अन्य विद्युत् आपूर्तिमा कुनै किसिमका समस्या नआउने उहाँको भनाइ छ ।
“जति सक्दो बढी खपत गरे हुन्छ । देशभरि अन्धकार हुँदैन । अब कहीँ–कहीँ प्राविधिक समस्या सानोतिनो आउने भन्ने त भइहाल्छ । तर, त्यस्तो देशभरि अन्धकार हुने भन्ने त्यस्तो हुँदैन,”उहाँले भन्नुभयो ।
प्रवक्ता ढकालले विद्युत् आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा विषयमा प्राधिकरण लागिपरेको बताउनुभयो । आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर नियमित विद्युत् आपुर्ति कसरी गर्ने भन्ने विषयमा नै प्राधिकरणको फोकस रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणको पूरै फोकस भनेको यो विद्युत् आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा नै छ । विशेष गरेर अब आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर, यो बेलामा सबै जना आ–आफ्नो घरमा बिदा मनाउन जाने पनि हुँदाखेरि नियमित विद्युत् आपुर्ति कसरी हुन्छ भन्ने फोकसमा छौँ हामी । देशैभरिका सबै वितरण केन्द्रहरूलाई सजग रूपमा राख्ने र यो बेलामा चाहिँ अविच्छिन्न रूपमा गएर आफ्नो ड्युटी गर्ने हिसाबले हामी तयारी गरिरहेका छौँ । विद्युत् प्राधिकरणले आफ्नो नियमित आयोजनाहरू त बढाइराखेकै छ । प्रसारण लाइनतिर आयोजनाहरू छन्, वितरणतिर आयोजनाहरू छन् । उत्पादनतिर भएका आयोजनाहरू पनि चलिरहेकै छन्, हामीले गरिराखेका छौँ ।’
त्यस्तै, उहाँले तिहारको बेला सुरक्षित रुपमा विद्युत्को प्रयोग गर्नका लागि सुझाव दिनुभयो । उहाँले सुझाव दिँदै भन्नुभयो, “विद्युत् प्रयोग गर्दाखेरि सुरक्षित भएर चाहिँ गर्नुपर्यो । अब विद्युतीय दुर्घटनाहरू भइराखेका छन् । कतिपय हाम्रै असहज अध्ययनले गर्दाखेरि विद्युतीय दुर्घटनाहरू भइराखेका छन् । अब विद्युत् हामीलाई नभइ नहुने चिज पनि हो, तर सही तरिकाले प्रयोग गर्न सकेनौँ भने त्यसबाट खतरा पनि हुन्छ । अब त्यो खालको सचेतता त गर्न जरुरी छ । बाहिर चाहिँ जथाभावी पोलहरू छोइदिनुभएन, कहीँ चाहिँ संरचनाहरू भत्किएको देखिएमा, बिग्रिएको देखामा तुरुन्तै विद्युत् प्राधिकरणको शाखामा खबर पनि गर्दिनुपर्यो । आफ्नो घरको वायरिङहरू ठिक गर्ने, अर्थिङ ठिक गर्ने, आफ्ना बालबालिकाहरूलाई पनि सचेत गराउनुपर्छ । खासगरी त विद्युतीय दुर्घटना नहोस् भन्ने नै हो ।”