पूर्वमन्त्री दीपक खड्काको प्रश्न– ‘म देश छोडेर किन भाग्ने ?’

23

काठमाडौँ, ३ कात्तिक । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाउनुभएको छ ।

सोमबार उहाँले काठमाडौँको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताउनुभयो ।

खड्काले सो समाचारप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौँको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर, म किन देश छोडेर भाग्छु ? पत्रकारिता समाजलाई सुसूचित गर्ने क्षेत्र हो । तर, केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।”

पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उहाँले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटी तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाउनुभयो ।

“यो सबै अचम्मलाग्दो र दुःखदायी कुरा हो,” उहाँले भन्नुभयो, “मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।”

खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...