वायुसेवा निगमद्वारा ऋण बापतको ५३ करोड भुक्तानी

11

काठमाडौँ, १ कात्तिक । नेपाल वायु सेवा निगमले यही असोज मसान्तसम्मको ऋण बापतको ५३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ । निगमले दुई ‘न्यारोबडी’ जहाजको किस्तातर्फको पूरै रकम र दुई ‘वाइडबडी’ जहाजको आंशिक गरी आज कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका ती जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको रुकम भुक्तानी गरिएको निगमले जनाएको हो ।

निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत यही असोज मसान्तसम्ममा ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।

कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र ‘पेनल’ छुट गरिदिन एवम् किस्ता सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध गरिएको निगममा प्रवक्ताद्वय सुवास डाँगी र मनोज कुमार साहद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यसैबीच निगमको काठमाडौँ—ग्वाञ्जाओ—काठमाडौँ सेक्टरको दोस्रो नियमित उडानमा पनि यात्रुहरुको उत्साहजनक आकर्षण देखिएको सो वक्तव्यमा जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...