जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो

32

काठमाडौँ, १७ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै बेहोस हुनुहुन्छ ।

भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असम्भव भएपछि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहे पनि उहाँ अझै अचेत अवस्थामा हुनुहुन्छ । तर, सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ ।

घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्नुहुन्छ, “२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेसन भइसके पनि होस खुलेको छैन । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडिओ र फोटोहरुले आन्दोलनमा प्रत्यक्ष सहभागि भएको देखिन्छ ।”

भक्तपुरको ठिमी बस्दै आएका दौलतका बुबा र श्रीमती सहयोगको याचना गर्दै भौतारिरहेका छन् । “हामीलाई थाहा छ, आन्दोलनका लागि भनेर उहाँ बानेश्वर आउनुभएको थियो । कतिखेर र कसरी घाइते हुनुभयो केही पत्तो पाइएन । एक्कैचोटी अस्पताल पुर्‍याउँदा मात्र थाहा पायौँ । एकसातादेखि ट्रमा सेन्टरमै उपचार गराइरहेका छौँ । सरकार उपचार गराउनुपर्छ भनेर अनेक बहान बनाइरहेको छ । आफ्नै खर्चले उपचार गर्न सकिरहेका छैनौँ । ऋण खोजेर उपचार गराइरहेका छौँ । हाम्रो बिजोग भयो,” यमकलाले भन्नुभयो ।

दौलतका बाबु गोरख बहादुर थापा आफ्नो छोरो आन्दोलनमा गएर घाइते भएको फोटो देखेपछि मात्र थाहा पाएको सुनाउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “छोरो पनि आन्दोलनमा गएको रहेछ मैले फोटो देखेपछि मात्रै थाहा पाएँ । अस्पताल लगेको छ भनेर राति साँढे ११ बजे मात्र थाहा पाएको हुँ । छोराको उपचारका लागि अस्पतालले एक लाख रुपैयाँ जम्मा गर्नुपर्छ भनेको छ । अपरेसनपछि सात दिन जति भेन्टिलेटरमा राखियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिन भइरहेको छ । पहिलेभन्दा केही सुधार हुँदै छ भनेर डाक्टरहरुले भन्नुभएको छ । तर, खर्च धान्न मुस्किल परिरहेको छ ।”

दौलतले आन्दोलनमा सहभागि भएको फोटो र भिडिओहरु सामाजिक सञ्जालमा पनि पोष्ट गरेका थिए । साथै फेसबुकमार्फत् लाइभसमेत गरेको भनेर परिवारका सदस्यहरुले जानकारी दिएका छन् । तर, सरकारले उहाँको उपचार गर्न र कार्ड प्रदान गर्न आनाकानी गरिरहेको परिवारले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...