गायिका सारिका घिमिरे भन्छिन्– ‘दसैँ संस्कृति हो, देखासिकी होइन’ [भिडिओ]

25

आकांक्षा धामी

काठमाडौँ, १५ असोज । संगीतको दुनियाँमा अहिलेको पुस्तामा एक छुट्टै स्थान बनाइसक्नुभएकी गायिका, गीतकार, संगीतकार तथा अभिनेत्री सारिका घिमिरे पछिल्लो समय एकदमै चर्चामा हुनुहुन्छ । उहाँका गीतहरूले जनमानसको मन छुने मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक तहल्का मच्चाइरहेका छन् ।

‘गुन भुल्यौ, पित्तलको सुन पायौ होला’ यही गीतले उहाँलाई लोकप्रियताको शिखरमा पुर्‍यायो । युट्युबमा लाखौँ भ्युज, हजारौं टिकटक र रिलहरू… बालकदेखि वृद्धसम्म सबैको ओठमा अहिले यो गीत गुञ्जिएको छ । तर, गीत–संगीतको व्यस्ततालाई केही समय थाँती राख्दै सारिकाले दसैँको सम्झनामा डुबेका पलहरू सुनाइन् नेपाल न्यूज बैंकसँग ।

बाल्यकालको दसैँ-नयाँ लुगा र पिङको रमाइलो
‘दसैँ भन्नासाथ बाल्यकालको त्यो रमाइलो समय सम्झिन्छु,’ सारिका भन्नुहुन्छ । सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आजको सफलता पाउँदा पनि कहाँ आउँछ र ! “दसै आउँछ भनेर हप्तौँ अगाडि नै लुगा किनेर राखिदिन्थे परिवारले,” उहाँ सम्झिनुहुन्छ, “त्यो लुगा लगाएर गाउँभरि देखाउन जान्थ्यौँ हामी ।”

पिङ खेल्ने, टीका थाप्ने, दक्षिणा लिने- ती सबै कुरा उहाँलाई अझै पनि हिजोको कुरा जस्तै लाग्छ ।

अहिले जिम्मेवारी बढ्यो, दसैँ नर्मलजस्तै लाग्छ
समयसँगै उमेर बढेपछि चाडवाडप्रतिको अनुभूति पनि परिवर्तन भएको छ । अब उहाँलाई दसैँ छुट्टीको समयभन्दा पनि जिम्मेवारी बोकेको चाड जस्तो लाग्छ ।

“बच्चा बेलाको जस्तो चटारो, तयारी, जोश अब त्यति छैन,” उहाँ भन्नुहुन्छ, “अब त अलिअलि नर्मल लाग्छ, फेरि जिम्मेवारी पनि थपिन्छ नि ।” तर, यति हुँदाहुँदै पनि, उहाँ भन्नुहुन्छ, “दसैँ भनेको नेपालीहरूको साझा चाड हो । सभ्य तरिकाले, खुसीसाथ मनाउनुपर्छ ।”

चाडवाड र संगीत-अटुट सम्बन्ध
गायिकाका लागि चाडवाड गीत–संगीतबिनाको त कल्पना नै गर्न सकिँदैन । “दसैँ आयो भन्नेबित्तिकै गीत बज्न थाल्छ,” उहाँ भन्नुहुन्छ,“गीत–संगीत बिना चाडवाड खल्लो लाग्छ ।”

उहाँलाई आफूले गाएको दसैँ विशेष गीत नहुनुको थोरै अफसोस पनि छ । “सोचेको थिएँ यसपालि एउटा दसैँ–तिहारको गीत गरौँ कि भनेर,” उहाँ भन्नुहुन्छ, “तर, समय मिलेन, अब अर्को वर्ष गरौँला ।”

विदेश यात्रा होइन, देशमै कार्यक्रम
दसैँ–तिहारको समय धेरै कलाकारहरू विदेशमा कार्यक्रम लिएर जान्छन् । तर, सारिका भन्नुहुन्छ, “अहिलेसम्म दसैँ–तिहारमा विदेश जानु परेको छैन ।” नेपालमै केही कार्यक्रमहरू भइरहेका छन्, तर देशको समग्र अवस्थाका कारण सबै कुरा नियमितजस्तो नभएको उहााँ बताउनुहुन्छ ।

सबैका लागि शुभकामना
अन्ततः सारिकाले सबै नेपालीलाई सन्देश दिँदै भन्नुभयो, ‘ह्याप्पी दसैँ ! सबैले आ–आफ्नो ठाउँबाट सुरक्षित, सभ्य र सान्दर्भिक ढंगले दशैं मनाउनुहोस् ।’ गीत–संगीतको माध्यमबाट समाजमा चेतना र मनोरञ्जन फैलाइरहेकी सारिका आफैँले अझै धेरै पर्व गीतहरू गाउने सपना बोकेकी छिन् । शायद अर्को वर्ष, दसैँको लहरसँगै सारिका घिमिरेकै स्वरमा नयाँ पर्व गीत गुञ्जिरहेको सुन्न पाइएला ।

Share This:
सम्बन्धित खबर
Loading...