- प्रमिला कार्की
काठमाडौँ, १३ असोज । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । यो वर्ष विश्व मुटु दिवस २०२५ को नारा ‘डन्ट मिस अ विट’ ‘म्यलुत ःष्कक ब द्यभबत’ रहेको छ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको बताउनुभयो । उहाँले अहिले बर्सेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिसहरू अल्पायूमै मर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले बर्सेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिसहरू त अल्पायुमै मर्छन् । अल्पायु भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । ६५ लाखभन्दा बढी मान्छेहरू ।”
यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उहाँ बताउनुहुन्छ । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाइ छ । “हाम्रो नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्छन् । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,” उहाँले भन्नुभयो, “विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।”
मुटुरोग विशेषज्ञ डा.रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ । डा.रेग्मीका अनुसार, पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ । काठमाडौँलगायत प्रदेशस्तरीय अस्पतालहरूमा समेत उपचार सेवाको पहुँच विस्तार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिले भारत वा बैंकक जानुपर्ने अवस्था थियो । अहिले नेपालमै जटिल शल्यक्रिया गर्न सकिन्छ ।”
तर, रोगको रोकथाम पक्षमा भने अझै गम्भीर कमजोरी रहेको उहाँले बताउनुभयो । “बच्चाहरूमा देखिने बाथ मुटु रोगलाई रोक्नेतर्फ राज्यको ध्यान पर्याप्त छैन,” उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।
डा.रेग्मीका अनुसार हाल विश्वभर ३३ प्रतिशत मानिस पूर्णतः शारीरिक रूपमा निष्क्रिय छन् । अर्का ३३ प्रतिशत मानिसको शारीरिक गतिविधि अपुग रहेको छ । यस्तो अवस्था मुटु रोग बढ्नुको प्रमुख कारण हो । उहाँले भन्नुभयो, “दैनिक आधा घण्टा हिँड्दा मात्रै पनि मुटु स्वस्थ रहनसक्छ । व्यायाम वा हिँड्डुललाई जीवनशैलीमा समावेश गर्नु अत्यावश्यक छ ।”
डा.रेग्मीले सन्तुलित आहार, शारीरिक सक्रियता र धुम्रपान तथा रक्सीबाट टाढा रहने जीवनशैली अपनाएर ८० प्रतिशत मुटु रोग रोक्न सकिने बताउनुभयो । “हामीले जति सकिन्छ ताजा खानेकुरा खानुपर्छ, पत्रु खाना, बोतलका पेय पदार्थ र चिल्लो पदार्थबाट टाढा रहनुपर्छ,” उहाँले भन्नुभयो ।
उच्च रक्तचापलाई ‘मौन हत्यारा’ को संज्ञा दिँदै डा.रेग्मीले भन्नुभयो, “नेपालमा उच्च रक्तचाप भएका ८० प्रतिशत मानिस उपचार नै गराइरहेका छैनन् ।” यस वर्षको मुटु दिवसमा रक्तचाप मापन गर्ने अभियानमा जोड दिन आग्रह गरिएको छ ।
उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैलीबाट ८० प्रतिशत मुट रोगका कारणहरु ८० प्रतिशत स्वस्थ जीवनशैलीबाट रोक्न सक्छौँ । त्यसैले मिस नगरौँ उच्च रक्तचाप धेरैलाई छ । धेरै मानिसहरूको उच्च रक्तचापबाट मृत्यु भइराखेको छ । तर, जति उच्च रक्तचाप भएका रोगीहरू छन्, उनीहरूमध्ये जम्मा २० प्रतिशतले मात्रै उपचार गराइराखेका छन् । ८० प्रतिशतले उपचार मिस गरिरहेका छन् ।”
त्यस्तै, वातावरणीय प्रदूषण विशेषगरी धुलोका सुक्ष्म कण र माइक्रोप्लास्टिकहरूले मुटुरोगको नयाँ जोखिमका रूपमा पहिचान भइरहेका छन् । “श्वासमार्फत् शरीरमा प्रवेश गर्ने यस्ता कणहरूले मुटु र मस्तिष्कको रक्त नलीहरूमा ब्लकेज निम्त्याइ हृदयघात गराउने प्रमाण भेटिएको छ,” उहाँले भन्नुभयो ।
डा.रेग्मीले सरकारलाई रोकथाममा लगानी बढाउन र आम जनतालाई पनि स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “उपचारभन्दा पनि रोकथाममा लगानी गर्दा दीर्घकालीन लाभ हुन्छ । हामीले अब ‘बचेको मुटुलाई’ जोगाउनुपर्छ, बच्नका लागि आफैँ सचेत हुनुपर्छ ।”
यसैगरी डा.रेग्मीले काठमाडौँमा मात्रै नभएर अहिले काठमाडौँ बाहिर पनि मुटुको रोग उपचारको विकेन्द्रीकरण भइसकेको बताउनुभयो । उहाँले प्रादेशिक अस्पतालहरूमा समेत धेरै अहिले मुटुका डाक्टरहरू पुगिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौँमा मात्रै नभएर अहिले काठमाडौँ बाहिर पनि मुटुको रोगको उपचारको विकेन्द्रीकरण भएको छ । प्रादेशिक अस्पतालहरूमा धेरै अब अहिले मुटुका डाक्टरहरू पुगिसक्नुभएको छ । म के भन्न चाहन्छु भने नेपालमा अहिले झन्डै झन्डै ९५ प्रतिशत मुटुका रोगीहरूको उपचार हुन्छ । केही केही रोगहरूको लागि मात्रै बाहिर जानुपर्ने हुन्छ ।”
प्रदूषणलाई पछिल्लो समय मुटुरोगको नयाँ जोखिम कारकको रूपमा हेरिएको छ । धुलो, प्लास्टिकको कण, ध्वनिको प्रदूषणजस्ता कारणहरूले पनि मुटुको रक्तनलीमा असर पुर्याइरहेको प्रमाणित भइसकेको उनले उल्लेख गर्नुभयो ।
“श्वासमार्फत् शरीरमा पुगेको धुलो र माइक्रोप्लास्टिकको कणले रक्तनलीमा जमेर हार्ट अट्याक वा मस्तिष्कघात गराउने गरेको पाइएको छ,” उहाँले भन्नुभयो ।
डा.रेग्मी भन्नुहुन्छ, “उपचारतर्फ नेपाल अगाडि बढेको छ, तर रोकथाममा ध्यान नदिँदा रोगको ग्राफ बढ्दो छ ।” उहाँले सरकारले रोकथाममा बजेट छुट्याउनुपर्ने र जनस्तरमा सचेतना अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।