काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताउनुभएको छ ।
आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ, ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाइन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएता पनि पनि पछिल्लो समयमा झन् भयंकर सेवन गर्ने, मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।”
त्यस्तै, उहाँले चाडपर्वको बेला पालना गर्नुपर्ने सबै किसिमका टाफिक नियमहरु पालना गर्न आग्रह गर्नुभयो ।
दसैँलगायतका चाडपर्व शान्त रुपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिनेगरी संयमता अपनाउन सबैमा उहाँले अपिल गर्नुभयो ।
*शीर्षकमा एआइजी कार्की हुनुपर्नेमा अन्याथा भएकाले सच्याइएको ।