काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवर्द्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताउनुभयो ।
“नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,” उहाँले भन्नुभयो, “सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।”
उहाँले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । “तीनै तहका सरकारहरुबीच, निजी क्षेत्रहरुबीच र विभिन्न मन्त्रालय तथा निकायहरुबीच समन्वय गरेर मन्त्रालयले पर्यटनको क्षेत्रमा ध्यान दिनेछ,” सचिव मैनालीले भन्नुभयो ।
उहाँले स्थानीय, प्रदेश र संघीय सरकारहरूले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । “हामीसँग नेपाल पर्यटन बोर्डलगायत पर्यटनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अन्य निकायहरू छन् । तिनीहरूसँग समन्वय गर्दै आएका छौँ,” उहाँले थप्नुभयो ।
सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवर्द्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैँ सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटनसँग सम्बिन्धित रहेका निकायहरुसँग हामीले समन्वय गरिरहेका छौँ । निजी क्षेत्रहरुसँग पनि हामी पर्यटन क्षेत्रको विकासका लागि हामी छलफल गरिरहेकै छौँ । निजी क्षेत्रले सार्पोटिभ वातावरणमा मन्त्रालयसँग नीतिगत सम्वाद लगायत हरेक कुराको मैले उच्च रुपमा मूल्यांकन गरेको छु ।”