सहिदको सपना अपुरो छ अझै अधुरो
जेनजीको गोलीले बनायो घाउ गहिरो
रगतको खोलीले भिजेछ देश र यो माटो
बाध्य दिन श्रद्धाञ्जली शुभकामना साटो ।
दुःख अनि रोदन सँगै आयो दसैँतिहार
देशभित्र देशबाहिर बढोस् सबैको प्यार
सबै नेपालीका घर रहोस् शान्ति उल्लास
दुर्गाले रक्षा होस् सहिदको स्वर्गमा बास ।
पुरानो सबै हटी आयो नयाँ दसैँ–तिहार,
कोही नहोस् विपत्तिमा माग्नैपर्ने गुहार
दुबो जस्तै मौलाओस्, फूल जस्तै फुलोस्,
सुख, शान्ति, समृद्धिले देश अमन रहोस् ।
घर फर्किने आशामा मात्र नबस परदेशी
नबढाऊ धड्कन आउँछ सन्तान गाउँबेसी
गाउँमा बाबियोको हालियो पिङको लठ्ठा,
साथीसँग रमाउँदै खेलिन्थ्यो देउसी–भट्टा ।
गाउँ–सहर जताततै माहोल दसैँको,
बिर्सिँदै छौँ रीतिरिवाज सुर छैन कसैको
नवदुर्गा भित्रिए पनि घट्दै छ चहलपहल,
जोगाऔँ हाम्रो संस्कार, गरौं सबले पहल ।
नगरौँ तडक–भडक, साटौँ हामी खुसी,
दसैँ–तिहार मनाऔँ, नबनौँ कोही दुःखी
अब त फर्क परदेशी, दसैँ–तिहार मनाउन,
कमाएको धनसहित आउ घर रमाउन ।
-कमल खड्का
झिमरुक–२ बाँदीकोट, प्युठान