मतदाता नामावली सङ्कलन सुरू

20

काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरू गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत् मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगको वेबसाइटमार्फत् ‘प्रि–रजिष्ट्रेसन’ प्रणालीबाट फारामभरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनुपर्ने भएमा पनि सोही अवधिमा सच्याउन सकिने जनाएको छ ।

आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको थियो । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् । नामावली सङ्कलन पुन सुरु गरेसँगै युवा मतदाताको सङ्ख्या वृद्धि हुनेछ ।

यसअघि तोकिएको उपनिर्वाचनको मितिअनुसार गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकामा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन खुला गरिएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभाको विघटन भइ आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो । प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीले यही असोज ७ गते निर्वाचनका लागि कानुन संशोधन र व्यवस्थापकीय तयारीबारे छलफल गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...