कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

18

सुर्खेत, ९ असोज । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् ।

प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो । उहाँका अनुसार यही असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागु हुनेछ ।

देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवम् विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दी चाडपर्वको समयमा आफ्नो घरबतनमा आउन सक्ने भएकाले उक्त समयमा थप आपराधिक घटना हुनसक्ने जोखिम रहेको सुरक्षा अधिकारी बताउँछन् । कुनै पनि अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागु गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

त्रिपन्न वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिएको उहाँले बताउनुभयो । साथै २० वटा लामो तथा छोटो दुरीका गस्तीसमेत परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताउनुभयो । उहाँका अनुसार यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत् प्रचारप्रसार भइरहेको छ भने बैंक, वित्तीय सङ्घसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।

आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको खनालले उल्लेख गर्नुभयो । सुरक्षा योजना अनुसार प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...