काठमाडौँ, ७ असोज । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले चाडपर्वलाई लक्षित गर्दै २४सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनःस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।
यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफलपछि पहिलो नम्बरमा ‘नागढुङ्गा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमा’ शीर्षकमा निर्णय नै गर्नुभएको थियो ।
‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमाः काठमाण्डौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने,’ पहिलो नम्बरको निर्णयमा यही उल्लेख थियो । तर, उक्त सुरुङ मार्ग दसैँ अगाडि नै सञ्चालन गर्न मुस्किल पर्ने देखिएको छ ।
हुनतः निवर्तमान केपी ओली नेतृत्वको सरकारले उक्त मार्ग प्रयोग गर्ने अन्तिम तयारी गरे पनि केही प्राविधिक कठिनाइका कारण रोकिएको थियो ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरिसकेको थियो । साथै ओलीले उक्त सुरुङमार्ग २०८२ कात्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पर्ने लाइटिङ भ्यानटिलेसनहरूको कार्य अन्तिम चरणमा रहेको जनाएका थिए ।
सुरुङ्गमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थी दसैँ अगाडि नै सुरुङ सञ्चालन गर्न आवश्यक छलफल भइरहेको बताउनुहुन्छ । “सुरुङ मार्ग सञ्चालनका लागि जापानी सहयोग नियोग जाइका साथै नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ । प्राविधिक टोलीले अध्ययन पनि गरिरहेको छ । टोलीले सहमति दिएपछि मात्र दसैँ अगाडि सञ्चालनमा ल्याउन सकिन्छ । तर, हालसम्मको प्रगतिलाई हेर्दा दसैँ अगाडि नै मुस्किल पर्छजस्तो लाग्छ,’ उहाँले भन्नुभयो ।
सुरुङका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु धमाधम भइरहेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २.६ किलोमिटर लामो छ । २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको मार्ग स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दै आइरहेका छन् ।
आयोजनाले यतिबेला कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थापन गरिरहेको छ । सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा छ ।