काठमाडौँ, ७ असोज । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताउनुभएको छ । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताउनुभएको हो ।
नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जिडिपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिनुभयो ।
“उद्योगहरुमा कुल जिडिडीपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के–कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । ठुला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उहाँको छ । “सिएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । “शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । के–कस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बड्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा राख्नुभयो । उहाँले केही महत्त्वपूर्ण प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाउनुभयो । उनले ऊर्जा, पर्यटन, शिक्षा र कृषिलगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।