बाजुरा, ६ असोज । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताउनुभएको छ ।
बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिइ सहज रुपमा देशका ठुला सहरमा सहज बजारीकरण गरिने उहाँले बताउनुभयो ।
ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गर्नुभयो । कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताउनुभयो ।
मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसक्दा स्याउ बजारीकरणका लागि पर्खेका कृषकहरुको स्याउ अहिले ज्ञान केन्द्रको समन्वयमा कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र ढुवानीमा रकम प्रक्रिया पुगिसकेपछि कृषकहरुकै खातामा जम्मा गरिने साहानीले बताउनुभयो ।
अहिले कृषकहरुलाई केन्द्रको समन्वयमा ढुवानी गर्न भनेका छौँ, पछि ढुवानी भएर स्याउ बिक्रीवितरण भइसकेपश्चात् स्याउ बजारीकरणको स्लिपलगायतका कागजात सङ्कलन गरी कृषकहरुकै हातमा रकम दिइने उहाँको भनाइ छ ।
कतिपय कृषकहरुले स्याउ बजारीकरणका लागि अझै निवेदन दिइरहेका छन् । निवेदन परेका आधारमा कृषकहरुका लागि स्याउ ढुवानी अनुदान रकम दिइने ज्ञान केन्द्र प्रमुख साहानीले बताउनुभयो । एक हप्ताका लागि सूचना जारी गरेका छौँ । २० बढी कृषकहरुका निवेदन परेका छन् । निवेदन पश्चात प्रक्रिया पूरा गरी ढुवानी रकम उपलब्ध गराइने उहाँको भनाइ रहेको छ ।
बाजुरामा गतवर्षको भन्दा यो वर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ ।
जिल्लाको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढिनन्दा, गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ ।
हरेक वर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् । कतिपयले बजारीकरण गर्न नसक्दा स्याउ काटेर गाईवस्तुलाई समेत दिने गरेका छन् ।