काठमाडौँ, ४ असोज । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किँदै छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठुला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।
हिन्दुहरुको महान पर्व दसैँ नजिकिँदै गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौँ उपत्यकाभित्रका न्युरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दसैँको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा न्युरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढे पनि सोचेजस्तो व्यापार हुन नसकेको बताउनुभयो । साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्दै गएको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बजारमा भीड बढेको छ नभएको होइन तर व्यापार भने सोचेको जस्तो भएको छैन । अहिलेको अवस्थामा मान्छेले चाहिने सामान मात्र खरिद गर्ने भएकाले अति आवश्यक सामानको बिक्री मात्र भइरहेको छ । हामीले भारतबाट सामान ल्याउने भएको हुनाले केही समस्या भने भएको छैन । हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यापार भने छैन ।’
असन क्षेत्रकै अर्का व्यापारी प्रभा श्रेष्ठले पनि अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार अलि कम नै भइरहेको सुनाउँदै भन्नुभयो, ‘अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार कम छ । हिजोबाट भर्खर चहलपहल हुन थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ । यसपालि पहिलाभन्दा कम नै छ ।’
न्यूरोडमा भर्खरै व्यापार सुरु गरेका व्यापारी रमेश श्रेष्ठले आन्दोलनका कारणले गर्दा सामान्य व्यापारीहरुलाई धेरै नै समस्या परेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बाहिर बजारमा त व्यापार होला तर भित्रि बजारमा छैन् । आन्दोलनको कारणले सामान्य व्यापारीलाई भने धेरै नै समस्या परेको छ । हामीले त यही व्यापारबाट खानेबस्ने हो । विगत वर्षको भन्दा आफ्नै व्यापार खस्किएको छ ।’
आन्दोलनले गर्दा बजारमा नकारात्मक प्रभाव परेको र व्यापार घटेको अवस्थामा कुनै स्थानमा भने व्यापार बढिरहेको पनि छ । न्युरोडकै अर्का व्यापारी रेखा पौडेल श्रेष्ठले दसैँको बेला व्यापार सामान्य भइरहेको र पसलहरु भरिभराउ नै रहेको बताउनुभयो ।
यसको साथै, सामान किन्न भनेर आउनुभइकी ग्राहक बिपना प्याकुरेलले आन्दोलनले गर्दा पहिलाको भन्दा सामानको मूल्य बढेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले आन्दोलनले गर्दा हो कि, सामान पनि त्यस्तो राम्रो छैन र पहिलाको भन्दा मूल्य पनि बढेकै छ । पाँच सयदेखि, हजार रुपैयाँसम्म बढेको छ ।’
साथै, अर्का ग्राहक बिमल गिरीले पनि मन्दीका बेला मौका छोप्ने र सामानको मूल्य बढाउने गरेकाले व्यापारमा फाइदा नहुने बताउनुभयो ।