वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

46

झापा, ४ असोज । गत भदौ २४ गते झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा हुनुहुन्थ्यो । ७६ वर्षीया आमा गुनमायाले सोध्नुभयो, “कता हिँड्न लागेको कान्छा ?”

गोपालले जवाफ दिनुभएको थियो, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँड्नुभएका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उहाँ सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद हुनुभयो ।

विर्तामोड गएपछि उहाँ सबैभन्दा पहिला बिएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा जानुभएको थियो ।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उहाँको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।

उहाँकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सधैँझैँ योग सिकाउन शिविरमा जानुभएको थियो । त्यहाँबाट फर्केपछि उहाँले गोठमा गएर गाई दुहुनुभयो । त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल जानुभयो । आमासँगै दही चिउरा खाएर उहाँ विर्तामोड जानुभएको थियो ।

“आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाउनुभयो, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”

अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पुर्‍याइएको थियो । गोलीले छाती छेडेका कारण उहाँको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सधैँ नजिक रहेको बताउनुभयो ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउनेबित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भन्नुभयो, “एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ ।”

उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताउनुभयो । जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंँमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो ।”

गोपाल मेहनती किसान र नर्सरी व्यवसायी हुनुहुन्थ्यो । उहाँले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी लगाउनुभएको थियो । खेतीपाती र पशुपालनमा उहाँको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उहाँ आफैँ गर्नुहुन्थ्यो । बारीमा सुपारी र मरिचको बगान लगाउनुभएको थियो । उहाँको निधनले गाउँ नै शोकमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...