रामेछापमा पनि कर्फ्यु जारी

14

रामेछाप, २५ भदौ । रामेछाप जिल्लामा गएराति जारी गरिएको कर्फ्यु आदेश लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप नगरपालिकाभित्रका संवेदनशील क्षेत्रमा पुनःकर्फ्यु लागु गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाउनुभएको छ । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनि कर्फ्यु लगाइएको उहाँले जानकारी दिनिुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सो निर्णय गरिएको प्रशासनले जनाएको छ । आदेशमा तोकिएका क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा कुनै पनि प्रकारका गतिविधि गर्न रोक लगाइएको छ ।

कर्फ्यु आदेशअनुसार मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ।

त्यस्तै, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सिटिइभिटीसम्मको आवतजावत रोकिएको छ। मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यु जारी गरिएको छ भने रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्र समेत कर्फ्यु लगाइएको छ ।

यसअघि गएराति १० बजेदेखि आज बिहान ६ बजेसम्मको लागि सोही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। तर, अवस्था संवेदनशील रहन सक्ने आकलनसहित प्रशासनले फेरि आदेश थप गरेको हो । प्रमुख जिल्ला अधिकारी थापाले आवश्यकताअनुसार सुरक्षा संवेदनशीलता कायम गर्न कर्फ्युलाई निरन्तरता दिनुपरेको हो ।

प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ।

Share This:
सम्बन्धित खबर
Loading...