काठमाडौँ, १८ साउन । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गर्नुभएको छ ।
अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै घिसिङले आफूले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठुलो आशा गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘वास्तवमा देश बनाउन तपाईंहरुको ठुलो भूमिका रहेको छ । देशको सम्बृद्धिका लागि, देशमा सुशासन कायम गर्न र देशको समग्र विकासका लागि तपाईंहरुबाट ठुलो आशा गरेको छु । आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाईं सबैले निभाउनुपर्छ यो एक्सनमा तपाईंहरु पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो ।’
उहाँले अगाडि भन्नुभयो,‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु । केही दिनअघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु । कुनै नेता वा नेतृत्व जन्मिनुभन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो ।’
उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रमशक्तिलाई एकिकृत गरी परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताउनुभयो ।
कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उहाँले नेपालमा राजजीतिक परिवर्तन धेरै भए पनि आर्थिक रुपान्तरण हुन नसकेको बताउनुभयो ।
साथै, नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको बताउँदै उहाँले जनतालाई डेलिभरि दिनसक्ने खालको नेतृत्व चाहिएको विचार व्यक्त गर्नुभयो । त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उहाँको भनाइ छ ।