रुपन्देही–३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते

22

रुपन्देही, १६ असार । रुपन्देही क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले यहाँ उपनिर्वाचन हुनेभएको छ । विसं २०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवम् कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ ।

यसैबीच, निर्वाचन आयोगले अर्को सूचना जारी गर्दै यही असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरेको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन प्रक्रियाका लागि मतदाता नामावाली दर्ता नहुने व्यवस्था भएकाले नियमित रूपमा भइरहेको मतदाता नामावली अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको भनी विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...