मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

12

धनुषा, २ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

आइतबारको प्रदेशसभाको पाँचौँ अधिवेशनको दशौँ बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड र पुँजीगततर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ । कुल बजेटमा चालु खर्च ३५.८९ प्रतिशत र पुँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरण अनुदान सात अर्ब ७२ करोड १९ लाख र सःशर्त अनुदान चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान ३९ करोड ४५ लाख, समपूरक अनुदान ३५ करोड ८२ लाख र अनुदानमार्फत् जम्मा १२ अर्ब ६३ करोड ६४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट १२ अर्ब ३४ करोड ४५ लाखगत वर्षको मौज्दातबाट १० अर्ब ३८ करोड दुई लाख ५१ हजार र आन्तरिक ऋणबाट दुई अर्ब सङ्कलन हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १५ अर्ब ८८ करोड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ६ अर्ब ४५ करोड, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयलाई चार अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी शिक्षा तथा संस्कृति मन्त्रालयलाई तीन अर्ब ५७ करोड, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयलाई तीन अर्ब आठ करोड बजेट विनियोजन गरेको छ । कृषि मन्त्रालयलाई दुई अर्ब ८३ करोड, वन तथा वातावरण मन्त्रालयलाई दुई अर्ब ३७ करोड, युवा, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयलाई एक अर्ब ६८ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री यादवले बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ६४ करोड ८९ लाख र श्रम तथा यातायात मन्त्रालयलाई ५७ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेट ६.१३ प्रतिशतले वृद्धि भएको छ । सरकारले बजेटमार्फत् आत्मनिर्भर र समृद्ध मधेस निर्माणको आधार तयार गर्ने उद्देश्य लिएको बताइएको छ । बजेट प्रस्तुतीकरणका क्रममा अर्थमन्त्री यादवले फजुल खर्च नियन्त्रण गरी, उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगारी सिर्जना र समृद्ध प्रदेशको परिकल्पना साकार पार्न बजेट लक्षित गरिएको बताउनुभयो ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि चालुतर्फ १५ अर्ब ९४ करोड र पुँजीगततर्फ २७ अर्ब ८९ करोड गरी जम्मा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०/८१ को भन्दा ०.५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि चालुतर्फ १८ अर्ब ५४ करोड र पुँजीगततर्फ २५ अर्ब ५७ करोड गरी जम्मा ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...