सुदूरपश्चिममा बुधबार थपिए १२४ कोरोना संक्रमित

198

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टामा कोभिड–१९ का शङ्कास्पद ४ सय ९३ को नमूना परीक्षण गरिँदा १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा र डडेलधुराका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार थपिएकासंक्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल संक्रमित ११ हजार ९ सय ९९ पुगेका छन् । हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६ सय ७६ डिस्चार्ज भएका छन् । योसमेत प्रदेशमा अहिलेसम्म ४२ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ । सक्रिय संक्रमित दुई हजार २ सय ८१ बिरामी पुगेका छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी संक्रमितको उपचार व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार सेती प्रादेशिक अस्पताल धनगढी मातहत थप ५० शय्याको नयाँ कोरोना अस्थायी अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । हाल उक्त अस्पतालमा ५० शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा छ ।

सरकारको निर्णयपछि सो अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि अब १ सय शय्यासहितको अस्पताल सञ्चालनमा आउने भएको छ । प्रदेश मातहतका विभिन्न जिल्लाका आठ अस्पतालमा मिनी अक्सिजन प्लान्टको व्यवस्था गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २२ हजार ६ सय ८१ को नमूना सङ्कलन गरिएकामा एक लाख २२ हजार १ सय ९५ को परीक्षण गरिएको छ । परीक्षण गरिएको सो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५ सय १७ को झण्डै चार प्रतिशत हो ।

Share This:
सम्बन्धित खबर
Loading...