पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

11
  • धर्मेन्द्र झा

मुस्ताङ, २ जेठ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत् हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर, उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ ।

नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ । कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उहाँका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।

“लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट ९यस क्षेत्रमा अन्तिम पोष्ट० भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उहाँले भन्नुभयो । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।

“सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्‌को पोल भए पनि बिजुली पुगेको छैन”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए ।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नभएकाले पनि आफूहरूलाई समस्या भएको उहाँको भनाइ छ । गुरूङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ । “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ”, अध्यक्ष गुरूङले भन्नुभयो ।

कोरलानाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरूङका अनुसार भवन नहुँदा व्यापारी खुला चौरमा व्यापार गर्न बाध्य छन् । “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ, पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो ।” उहाँजस्ता व्यापारीहरू बिहान ९ः०० बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ बजेसम्म फर्कने गरेका छन् ।

चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ ।

कोरलानाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । विसं २०७२ को भूकम्पपछि तातोपानी, केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो । यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरूङको बुझाइ छ । उहाँका अनुसार व्यापार गर्ने र नाका पुगेकालाई सहज हुनेगरी आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।

कोरलानाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार ३४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि, यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ ।

कोरलानाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमानजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।

यो नाका तिब्बतमा रहेको हिन्दुहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब छ सय किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाकाको सहज सञ्चालन हुने होभने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन् ।

पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । उनीहरूका लागि खानेपानी र शौचालयको पनि व्यवस्था छैन । पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन् । त्यहाँ पुग्नका लागि सडकको पहुँच भए पनि बस्नका लागि सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन् । न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन् ।

यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरलानाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो ।

यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो । तर, कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरलानाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।

जोमसोमदेखि कोरलानाकासम्म ११० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । -रासस

Share This:
सम्बन्धित खबर
Loading...