स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ : सुनिता डंगोल

62

काठमाडौँ, ११ वैशाख । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताउनुभएको छ ।

बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उहाँले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले देख्छौँ । धेरै जनाले स्टन्ड गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरुलाई गाली गरेरनै देश बन्छ जस्तो पनि लाग्छ । तर, स्टन्ड गरेर देश बन्दैन । देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ । त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौँ । काम गर्ने युवा बनौँ, हामी अराजक युवा हैनौँ ।’

त्यस्तै, उहाँले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताउनुभयो । त्यस्तै, उहाँले प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले गरेको काम देश र सहरभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि काठमाडौँमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो । संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनि धेरैलाई पोल्यो । कुनै आधारविहीन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण निरन्तर गरिरहे ती आक्रमण गर्ने व्यक्तिहरु राष्ट्रविरोधी हुन् । अहिले पनि ती तत्वहरु सल्बलाइरहेका छन् । यो ममा मात्र सीमित छैन । प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...