काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताउनुभएको छ ।
बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँले नेताहरुकै कारण समस्या बढिरहेको औँल्याउनुभयो । उहाँले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको बताउनुभयो । उहाँले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले हामीले संविधान पाएका छौँ । दश वर्ष भइसक्यो यसलाई समीक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ । वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ । सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि । त्यसैले साच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ । नेताहरुको दिमागमा अझैपनि केन्द्रकृत छन् । उनीहरु चाहँदैनन् आफ्नो पावर दिनलाई । उनीहरु कुरा बुझ्दैनन् । बजेट पनि मध्यम वर्गलाई पनि छुने किसिमको छैन । केन्द्रकृत शासनमा कसरी देश विकास हुन्छ ?’
त्यस्तै, उहाँले संघ, प्रदेशमा केन्द्रले कुनै पनि किसिमको हस्पक्षेप गर्न नमिल्ने धारणा राख्नुभयो । लोकतन्त्रको सफल कार्यान्वयनको ठुलो जिम्मेवारी थपिएको भन्दै दुईवटा ठुला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह खडा हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘हामी विकेन्द्रीकरणमा गएका छौँ । हाम्रो सातवटा प्रदेश छन् । सबैको आफ्नो आफ्नो अधिकार छ । उनीहरुको आफ्नै बजेट हुन्छ । उनीहरुको आफ्नै कार्यक्रम हुन्छ, आफ्नै संगठन हुन्छ तर हस्तक्षेप केन्द्रबाट गर्नुहुन्छ । अनि कसरी विकास हुन्छ । अर्को कुरा लोकतन्त्र त आयो यसको सफल कार्यान्वयनको पक्षमा काँधमा ठुलो जिम्मेवारी छ । दुईवटा ठुला दलले नेतृत्व गरिरहेको छन् । यसले पनि गरेन भने त प्रश्न चिन्ह आउँछ नि ।’
उहाँले आउने पुस्तालाई संघीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरु प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राख्नुभयो ।