काठमाडौँ, ६ वैशाख । वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नसकेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।
यहाँस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर, वर्षाका कारण खेल समयमै हुन सकेछ । पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन ।
आजको खेल दुवै टोलीको लागि महत्त्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीन÷तीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडे । दुवै टोलीसँग समान ७÷७ अङ्क भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने छ ।