छ वर्षपछि नेपालगञ्ज रंगशालामा खेलकुदको रौनक

9

बाँके, ६ वैशाख । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ ।

बाँकेमा आठौँ राष्ट्रिय खेलकुदपछि करिब ६ वर्षसम्म ठुलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

“लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठुलो प्रतियोगिता नेपालगञ्ज रंगशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भन्नुभयो, “नियमति रुपमा ठुला खेलकुद प्रतियोगिता हुनसके नेपालगञ्ज रंगशालाको रौनक अझै बढ्दै जानेछ ।”

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रंगशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

विगतमा सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक प्रतियोगिता सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगञ्ज रङ्गशाला आकर्षक देखिएको छ । जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा शुक्रबार सुरू भइ वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता समूहले पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...