कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

31

भक्तपुर, ६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै शुक्रबार सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रमा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डल आग्रह गरेको छ ।

शुक्रबार बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ ।

बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवम् प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बोर्डले विज्ञप्तिमार्फत् जनाएको छ । बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...