रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमाञ्चक यात्रा

8
  • सुजन तिमल्सिना

इलाम, २७ चैत । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उहाँको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ ।

उखरमाउलो कोलकाताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँडाकाँडामा पदयात्रा गर्ने रहर भए पनि साइत जुरेको थिएन । उहाँ भन्नुहुन्छ,‘मेरो रहर नेपालको सन्दकपुर गाउँपालिकाले आयोजना गरेको रेडपाण्डा महोत्सवबाट पूरा मात्रै भएको छैन, पदयात्राको अनुभव पनि अविश्मरणीय छ । भारतमा घुम्न जाँदा तीन किलोमिटरसम्म मात्रै यात्रा गरेका योगेशले चैत्र २० देखि २३ सम्म आयोजना भएको पदमार्गमा आधारित दोस्रो रेडपाण्डा महोत्सवको सुरुवातको दिन १२ किलोमिटर पार गर्नुभयो ।

रेडपाण्डा पदमार्गको हिलेबाट गोरुवाले भञ्ज्याङ्गसम्मको पदयात्रा अविस्मरणिय भयो । उहाँ भन्नुहुन्छ–‘कोलकाताको गर्मी छलेर ३३ सय ३ मिटर सम्मको अग्लो पहाड चढ्नु मेरा लागि सगरमाथा चढेजस्तै भएको छ । सायद सगरमाथाको चुचुरो पुग्नुअघि बढ्दा बीचमा कठिन र चुचुरोमा पुगेपछिको आनन्द हुन्छ होला सबैमा । छिन्टापु पहाड चढ्दाको अनुभव सगरमाथा चढ्ने यात्रीको झैँ छ । हरियाली पहाड उक्लदाको पीडा पार गरेपछि मैले सबै भुले ।’ छिन्टापुलाई प्राकृतिक ग्रेटवाल मानिन्छ । महाभारत पर्वतको दोस्रो अग्लो पहाड छिन्टापु चीनको ग्रेटवाल जस्तै देखिने पहाड हो ।

कोलकाताकी सोविता चौधरीसँग भारतका विभिन्न राज्यमा भ्रमण गरेको अनुभव भए पनि नेपालको यात्रा पहिलो थियो । सन् २०१७ मा सीमा क्षेत्रको पर्यटकीय क्षेत्र सन्दकपुर पुगेको अनुभव भए पनि पदयात्राको अनुभव थिएन । सन्दकपुर १ को हिले क्षेत्रबाट जंगलले ढाकेको पदमार्ग यात्रा गर्दै उहाँले भन्नुभयो,‘चरा र वन्यजन्तु सजिलै देखिने रहेछ । जंगल सफारी पनि गर्न सकिने क्षेत्र रहेछ ।’ दर्जनौ प्रजातिका गुराँसले ढकमक्क ढाकिएको जंगलमा चराहरुरको आवाजसँगै प्राकृतिक सुन्दरताको अध्ययन गर्दै यात्रा गर्दा आफ्नो घर नै भुलेको चौधरीले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ,‘घामले पिल्सिने कोलकातामा हुर्किएको म हरियाली जंगलमा यात्रा गर्दाको आनन्द बयान नै गर्न सक्दिनँ,’ सञ्चार क्षेत्रमा क्रियाशील उहाँले भन्नुभयो, ‘कोलकाता फर्किएपछि घुम्न चाहाने कलकत्ताबासीलाई रेडपाण्डा पदमार्ग पदयात्राका लागि सिफारिस गर्छु ।’ पदयात्राकै क्रममा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्न पाएपछि स्वर्गीय आनन्द भएको चौधरीको अनुभव छ । रेडपाण्डा पदमार्ग यात्रा गर्दा प्राकृतिक सुन्दरता, सर्वोच्च सिखर सगरमाथासँगै दर्जनौँ हिमश्रृङ्खला, ढकमक्क गुराँसका फुल, जडीबुटी, चराहरु र वन्यजन्तुको अध्ययन गर्न सकिने भएकाले पदमार्गको हरेक क्षेत्रमा त्यहाँको विषेशताका आधारमा प्रचार र प्रवर्द्धन गर्नुपर्ने चौधरीको सुझाव छ ।

चैत्र २० गतेदेखि २३ गतेसम्म आयोजना भएको दोस्रो रेडपाण्डा महोत्सवले भारतको पश्चिम बंगाल, काठमाडौँ र स्थानीय पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी गराएको थियो । सन्दकपुर गाउँपालिकाको आयोजना नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकरभिट्टा झापा, केचना कञ्चनजंघा पर्यटन विकास समिति र वन तथा वन्यजन्तुको संरक्षणमा जुट्दै आएको रेडपाण्डा नेटवर्कसँगै दिपज्योती युवा क्लब पाँचथर प्रवर्द्धक रहेका थिए ।

रेडपाण्डा लोपोन्मुख वन्यजन्तु हो । नेपाल, भारत, भुटान, म्यानमार र चिनमा मात्रै पाइने रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवर्द्धनको काम इलामको सन्दकपुर गाउँपालिकाबाटै सुरु भएको हो । सन्दकपुर गाउँपालिकाभित्रका उच्च पहाडी क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको छ । वनजंगलको संरक्षणमा आधारित पर्यटन प्रवर्द्धनको काम गर्नका लागि सन्दकपुर गाउँपालिकाले २०८० सालदेखि नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पदमार्गमा आधारित रेडपाण्डा महोत्सवको आयोजनाको थालनी गरेको हो ।

रामसार क्षेत्र माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारी जोड्ने पदमार्गमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनसँगै वन र वन्यजन्तुमा आधारित पर्यटन प्रवर्द्धन गर्ने योजनाका साथ महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो । महोत्सवको चारदिनको पदयात्रामा ७७ वर्षीय गाउँपालिका अध्यक्ष गुरुङ पनि अन्य पदयात्रीसँगै यात्रामा थिए । पदयात्राले पर्यटन क्षेत्रमा कस्ता कार्यक्रम सञ्चालन गर्ने योजनामा सहज हुने भएकाले म पनि पदयात्री भएको छु उहाँले भन्नुभयो,‘मेरा लागि पनि यो पदयात्रा अविस्मरणीय बनेको छ ।’

माईपोखरी जौबारी पदमार्गको ८० प्रतिशत क्षेत्र रेडपाण्डाको बासस्थान रहेको क्षेत्र हो । जसका कारण पदमार्गको नाम ‘रेड पाण्डा पदमार्ग’ नामाकरण गरिएको गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘हामी पर्यटन महोत्सवको पदयात्रा मात्रै गर्ने छैनौँ स्थानीयका समस्या र सामाधानका उपायाहरु पनि संकलन गरि योजना बनाउनेछौँ ।’

पदयात्रामा नेपाल माउण्टेन एकाडेमीका टोली पनि सहभागि भएको थियो । वनजंगल र वन्यजन्तुमा आधारित पर्यटन प्रवर्द्धनका माध्यमबाट पर्यटकहरु भित्र्याउन रेडपाण्डा पदमार्गमा प्रचुर सम्भावना रहेको नेपाल माउण्टेन एकाडेमीका अंसु मल्लले बताउनुभयो । उहाँले महोत्सवको चार दिन पदयात्रा गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ,‘प्राकृतिक सुन्दरता, जैविक विविधतासँगै दर्जनौ हिमश्रृङ्खलासँगै चरा र वन्यजन्तुको दृश्यमा रमाउने क्षेत्र नेपालमा धेरै छन् तर भएकामध्ये रेडपाण्डा पदमार्ग थोरै खर्चमा घुम्न सकिने क्षेत्र रहेछ ।’ चरा र वन्यजन्तुमा आधारित पर्यटन व्यवसाय महँगो प्याकेज हो, मल्लले भने–‘रेडपाण्डा पदमार्गमा नेपालका अन्य ठाउँमा भन्दामा सस्तोमा प्याकेज बन्छ । जसले समुदाय, गाउँपालिका र देशको आर्थिक वृद्धिमा असाधारण योगदान पुग्ने उहाँले बताउनुभयो । पदमार्गको क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि प्राकृतिक डसबिन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेडपाण्डा पदमार्ग संघीय सरकारको पर्यटन विभागबाट निर्माण भएको हो । एक प्रदेश एक साँस्कृतिक ग्राम घोषणा गरी संघीय सरकारले सन्दकपुरलाई कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा घोषणा गरेको थियो । २०७५ सालमा प्रदेशको प्रमुख गन्तव्य घोषणा गरिएपछि पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गरेको हो । २०७६ सालबाट निर्माण सुरु भएको पदमार्ग २०८१ असारमा पूरा भएको थियो । सोही पदमार्गमा पर्यटकहरु डुलाउने योजनाका साथ सन्दकपुर गाउँपालिकाले प्रवर्द्धन गर्न रेडपाण्डा महोत्सव गर्दै आएको छ ।

पदमार्गले सन्दकपुर गाउँपालिकाको ५ वटै वडा जोड्छ । २१ सय २१ मिटरको उचाइबाट सुरु भइ ३६ सय ३६ मिटर हुँदै २९ सय २९ मिटरमा पुगेर रेडपाण्डा पदमार्गको पदयात्रा पूरा हुन्छ । पदमार्गको धेरै क्षेत्र नेपाल र भारतको सीमा क्षेत्रमा रहेको छ । जहाँ होटल र होमस्टे व्यवसाय पनि फस्टाएको छ । १५ पर्यटकीय गन्तव्य रहेको पदमार्गमा राई, लिम्बु, गुरुङ्ग, मगर, शेर्पालगायत आदिवासी जनजाति समुदायको संस्कृतिको अध्ययन गर्न सकिन्छ ।

पर्यावरणको संरक्षण गरि पर्यटन प्रवर्द्धन गरेमात्रै उच्च पहाडी क्षेत्रको बसाइसराइँ रोक्न सकिने र आयआर्जन वद्धि हुने भएकाले पर्यटन विकासका लागि गाउँपालिकाले लगानी सुरु गरेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताउनुभयो । समुदायलाई जागरुप बनाउन लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको महत्त्व बुझाएर वनजंगल संरक्षण गर्ने र पर्यटक भित्र्याउने लक्ष्य रहेको वडाअध्यक्ष राईको भनाइ छ ।

‘लेकाली क्षेत्रको आम्दानीको श्रोत भनेकै आलु, मकै, मटर खेती र पशुपालन मात्रै हुने भएकाले घरखर्च चलाउन नै समस्या छ वडाअध्यक्ष राई भन्नुहुन्छ,‘हामीसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्य छ जहाँ घुमन्ते संस्कृति छ र उनीहरुलाई आकर्षित गरी आयआर्जन गर्ने योजनाका साथ पदमार्गको प्रचारप्रसार छौँ ।’ सन्दकपुर पर्यटकीय गन्तव्यमा पछिल्ला दिनमा भारतीय पर्यटहरु नेपाली बाटो हुँदै आउने क्रम बढेको छ उहाँले भन्नुभयो,‘पर्यटकको संख्या बिस्तारै बढ्दै गएको अवस्था छ हामी व्यवस्थापनका लागि तयार हुनुपर्छ भन्ने सन्देशसहित रेडपाण्डा महोत्सवलाई लिएका छौँ ।’

रेडपाण्डा पदमार्गको सुरुवाती स्थान माईपोखरी विश्व रामसार सूचीमा सूचीकृत छ । माईपोखरी सन् २००८ मा सूचीकृत भएको क्षेत्र भएकाले भारतीय पर्यटकको आकर्षण बढ्दो छ । माईपोखरी पछि डम्बरसिंह सुनुवार आदिवासी साँस्कृतिक संग्राहालय, सात खाल्डे सहिद पार्क, रेडपाण्डा प्रजनन् केन्द्र टप्पु, खप्परे, ढुङ्गेपानी, छिन्टापु पर्यटकीय गन्तव्य छन् । त्यसैगरी गोरुवाले, धुपी, सन्दकपुर, गुराँसे, चौँरीचौक, कालपोखरी, लालबास पोखरी, दोबाटे, कैयाकट्टा, गैरीबास र जौबारी पर्यटकीय गन्तव्य रहेका छन् । यी पर्यटकीय गन्तव्यहरुको छुट्टा–छुट्टै विषेशता रहेकाले पर्यटकहरु भ्रमणका लागि आकर्षित गर्न व्यवस्थापकीय पक्षमा सुधार गरेमात्रै पर्यटनबाट सन्दकपुरले धेरै लाभ लिन सक्ने केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले बताउनुभयो ।

समुदायले पर्यावरण संरक्षणमा जुट्ने, सरकारी पक्षले पर्यटन प्रवर्द्धनका लागि समुदायमा सीप हस्तान्तरण गर्ने र पर्यटकलाई राम्रो आथित्य सत्कार दिएमा सन्दकपुरको मुख्य आम्दानीको श्रोत पर्यटन क्षेत्र हुने धौरालीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सन्दकपुर गाउँपालिकाको अहिलेको आन्तरिक श्रोतमा ३५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेकाले अझ बढाउन हामी सबै एक भएर लाग्नुपर्नेछ ।’ पर्यावरण संरक्षणबाट पानीको श्रोत, चराचुरुङ्गी, वन्यजन्तु र जडिबुटीको संरक्षणमा सहज हुने र विश्वभरका पर्यटकहरुको ध्यान सन्दकपुरमा आकर्षित हुन्छ ।’

अहिले पनि रेडपाण्डा र चराचुरुङ्गीको अध्ययनका लागि आउने पर्यटकहरुको संख्या यस वर्ष मात्रै ५ सय बढिरहेको छ । भारतीय पर्यटकहरुको आकर्षण पनि रेडपाण्डा र चराहरुको अध्ययन बढेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताउनुभयो ।

रेडपाण्डा पर्यटन महोत्सव पर्यटन प्रवर्द्धनमा परिणाम दिने महोत्सव रहेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव राउतले बताउनुभयो । महोत्सव भनेपछि हामी धेरै हल्ला गर्ने, गित संगीतमा रमाउने भन्ने बुझिन्छ तर रेडपाण्डा महोत्सव पदमार्ग, पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार, अध्ययनसँगै लोपोन्मुख वन्यजन्तु रेडपाण्डाकै अवलोकन गर्न जंगल सफारिको कार्यतालिका राखेका हौँ ।

रेडपाण्डा महोत्सवमा पदमार्गमा पदयात्रा गर्ने, पर्यटकीय गन्तव्यमा पुगेर स्थानीयबासी, पर्यटन व्यवसायी, गाइड, पोटरहरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका राखिएको उहाँले बताउनुभयो । दुईचार दिन रमाइलो गर्ने भन्दा पनि पर्यटकीय गन्तव्यको प्रचार गर्दै त्यहाँका समस्या समाधान गर्ने योजना बनाएर परिणाममुखी काम गर्न महोत्सवलाई उपयोग गरेको सन्दकपुर ५ का वडाअध्यक्ष यज्ञबहादुर गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ,‘हाम्रो आम्दानी श्रोत नै पर्यटक क्षेत्र भएकाले हामीले पर्यटन क्षेत्रमा सुधारका काम गर्ने छौँ, त्यसका लागि पदमार्गमा आधारित रेडपाण्डा पर्यटन महोत्सवले सहयोग पुग्ने अपेक्षा राखेका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...