रौतहट, २७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिस्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताउनुभयो ।
उहाँले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भानिएको भए पनि पूरा नभएको जिकिर गर्नुभयो ।
उहाँले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको बताउनुभयो । संविधान संशोधन गर्ने नियत यो सरकारको नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौँ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिलै देखेको थिइनँ ।’
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका जसपा नेपालका अध्यक्ष यादवले देशको अर्थतन्त्र धरासायी बनेको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य गरुडामा सुरु भएको छ । अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आउनुभएको हो । बुधबारसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्ने छ ।