सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको सफल परीक्षण उडान

23

सुर्खेत, २४ फागुन । यती एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटिआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।

निकट भविष्यमै यती एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान दिउँसो सवा १२ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाउनुभएको थियो । परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरुको टोली साथमा रहेका थिए ।

यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौँ सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने प्रवत्ता बर्तौलाले बताउनुभयो ।

यती एअरलाइन्सले ७ वटा एटिआर ७२ विमानमार्फत् नियमित रुपमा काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमानमार्फत् सेवा विस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ । यतीको प्रवेशसँगै कर्णालीको राजधानी सुर्खेतबाट दैनिक उडान थपिँदा यात्रुहरुलाई राहत मिल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...